धनुषा । धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। बुधबार बिहान करिब ९ बजे स्थानीय ४८ वर्षीय किर्तिमान विकमाथि चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनको अवस्था हाल सामान्य रहेको र पिठ्युँसहित शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।




वडा नं. ७ का अध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार निलगाई नियन्त्रणका लागि लगाइएको तारजालीमा चितुवा फसेको थियो। सोही सूचना पाएर घटनास्थल पुगेका विकमाथि चितुवाले आक्रमण गरेको वडा अध्यक्ष स्याङ्दनले बताउनुभयो ।
हाल चितुवा सोही तारजालीमा फसेको अवस्थामा रहेको छ। यसको सुरक्षित उद्दारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराइएको वडाध्यक्ष स्याङ्दनले जनाएका छन्।








