महोत्तरी- महोत्तरी जिल्लाका विभिन्न स्थानमा सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकका घर तत्काल भत्काइने भन्ने हल्लाप्रति महोत्तरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो ले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सांसद महतोले सामाजिक सञ्जालमार्फत हाल कुनै पनि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकका घर तत्काल भत्काइने अवस्था नरहेको स्पष्ट पारेका छन् । जनताको भावना, जीवनयापन र अधिकारलाई बेवास्ता गरेर कुनै पनि निर्णय गर्न नहुने उनको भनाइ छ ।



उनले आवश्यक प्रक्रिया पूरा नगरी वा बल प्रयोग गरेर घर भत्काउने कार्य गरिए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिएका छन् । साथै डर, त्रास र भ्रम सिर्जना गरेर राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।
सांसद महतोले नागरिकलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा सत्यतथ्य जानकारीका लागि आधिकारिक स्रोतमा भरोसा गर्न आग्रह गरेका छन् । जनताको हक, अधिकार र सम्मानको संरक्षणका लागि आफू सधैँ जनताको साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।




