विजयकुमार साह
ढल्केबर । धनुषाको धनुषाधाम नगरपालिका–५, नौ सय बिघा क्षेत्रमा विद्युतीय ट्रान्सफर्मर चोरीको घटना प्रयोग भएको आशङ्कमा प्रहरीले भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।



शुक्रबार राति १ बजे बीआर ०१ इके ४०२४ नम्बरको कार नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उमाप्रेमपुरका इन्चार्ज अजयकुमार झाले बताउनुभयो ।
उहाँले खेत सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरीको प्रयास भएको जानकारी दिनुभयो । उहाँका अनुसार राति नियमित गस्तीको क्रममा सिँचाइका लागि प्रयोग गरिएको ट्रान्सफर्मर पोलबाट तल खसालिएको अवस्थामा भेटिएको थियो ।
चोरी गर्ने नियतले ट्रान्सफर्मर तल झारेको हुनसक्ने अनुमान गरेर चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्नेक्रममा घटनास्थल नजिकै बेवारिसे अवस्थामा भारतीय नम्बर प्लेटको कारलाई भेटिएको प्रहरी इन्चार्ज झाले बताउनुभयो ।
उहाँले नियन्त्रणमा लिएर जाँचगर्दा ट्रान्सफर्मर चोरीमा प्रयोग हुने सामग्री बरामद भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कारको डिक्कीबाट ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार, ट्रान्सफर्मरको तेल, काठका टुक्रा तथा ट्रान्सफर्मर खोल्न प्रयोग गरिने विभिन्न साइजका औजार फेला परेको छ ।
त्यसैगरी कारभित्र एनटिसी सिम भएको मोबाइल फोन, विक्कीकुमार साह सोनार नामको सवारी चालक अनुमतिपत्र र विभिन्न मितिका भन्सारसम्बन्धी कागजातसमेत फेला परेको उहाँको भनाइ छ ।




