बर्दिबास । शिरीष संचार समूह द्वारा संचालित रेडियो रुपान्तरणका संचालक सदस्य तथा स्टेशन म्यानेजर पत्रकार धनवीर महतोलाई पितृ शोक परेको छ । उनका पिता ७९ वर्षीय रामअशिष महतोको मंगलबार साँझ निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार मुटुसम्बन्धी समस्याबाट पीडित महतोको गत आइतबारदेखि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार साँझ उनको निधन भएको हो ।



महोत्तरीको गौशाला नगरपालिका–१, इटाटार घर भई पत्रकारिता क्षेत्रमा सक्रिय महतोका बुवाको निधनप्रति सञ्चारकर्मी, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरेका छन् । स्वर्गीय महतोको अन्त्यष्टि बुधबार बिहान ९ बजे हिन्दु परम्पराअनुसार गरिने परिवारले जनाएको छ । स्वर्गीय महतोका २ छोरा र २ छोरी रहेका छन् ।





