जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा रहेको एक होटलबाट प्रहरीले अवैध पेस्तोल, म्यागजिन र गोलीसहित दुई युवालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार दिउँसो थापा होटलमा खानतलासी गर्दा हतियार तथा गोली बरामद गरेको हो ।



प्रहरीले होटलबाट ‘ईगल -याप्टर’ लेखिएको काठको बिँड जडान भएको एक थान पेस्तोल, त्यसको एक थान म्यागजिन, ९ एमएमको एक थान गोली तथा ७.६५ एमएमका तीन थान गोली बरामद गरेको जनाएको छ ।
घटनामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया पक्राउ परेका छन् ।
प्रहरीले बरामद गरिएको हतियार र गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।




