सुजाता राई
मोरङ । मोरङका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा सुन्दरहरैँचा –८, सलकपुर, मोरङको सभाहलमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको छ।



प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा आख्यानकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय, विराटनगरका प्रमुख कुशेस्वर राई, कृतिकारकी माता जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सञ्चालक कृष्ण ढकाल, सहायक प्रिन्सिपल मनोज पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, सङ्गीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसी, सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष मिश्रा गुरुङल, सप्तक कला केन्द्र सलकपुरका अध्यक्ष देवराज ढकालगायतका झापा, मोरङ तथा सुनसरीका भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरू तथा स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रर्यो।
कार्यक्रममा भाषा, साहित्य र कलाका अतिरिक्त सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको समेत उपस्थिति भएको
रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले लेखकको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले कृतिमाथि गहिरो विमर्श प्रस्तुत गरेका थिए ।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका वैरागीले विभिन्न विषय समेटिएका यात्रीका गजलहरू भावका दृष्टिले निकै उत्कृष्ठ रहेको र कार्यक्रममा प्रमुख अतिथि पोखरेलले यात्रीका गजल समसामयिक रहेको बताए । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले गजलका विषयमा भइरहेका विवादको कुनै अर्थ नरहेको बताउँदै बहर मिलाएर मात्र गजल नहुने त्यसमा भाव वा शिल्प पक्ष पनि मजबुत हुनुपर्ने बताए ।
कार्यक्रममा राज लम्साल यात्री, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला, समीक्षा दाहालद्वारा कृतिभित्रका पाँचओटा गजलको साङ्गीतिक प्रस्तुति गरिएको थियो भने मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला तथा हरि पराजुलीले कृतिभित्रका एक एकओटा गजल वाचन गरेर सुनाए ।

सुन्दरहरैँचा –८, सलकपुर, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका उनको यो पहिलो एकल कृति रहेको हो। उनका यसअभि नै विभिन्न संयुक्त कृति प्रकाशित भइसकेका छन् । यस कृतिलाई साहित्य पोस्टले प्रकाशनमा ल्याएको हो ।
कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले सम्हाले।




