जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
बुधबार जारी गरिएको प्रहरीको प्रेस विज्ञप्तिअनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीहरूको खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको हो।



पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू चेक अनादर, जालसाजी, कुटपिट तथा लुटपाट, वन पैदावार, लेनदेन, गर्भपतन र चोरीलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्।
उनीहरूमध्ये केहीलाई एक महिनासम्म कैद सजाय तोकिएको थियो भने अन्यलाई एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए। साथै, अदालतबाट सजाय तोकिएपछि फरार रहेका अन्य व्यक्तिको खोजी कार्य पनि जारी रहेको उनले जानकारी दिए।




