बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ। साक्षरतासम्बन्धी आवश्यक सबै मापदण्ड तथा १२ सूचक मध्ये ६ वटा पूरा गरेपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले साक्षरताको नतिजा सार्वजनिक गर्दै बर्दिबासलाई साक्षर नगरपालिका घोषणा गर्नुभयो।
साक्षर नगर घोषणा गर्नु हुँदै श्रम मन्त्री थापाले साक्षर घोषणा अन्तिम उपलब्धि नभई गुणस्तरीय शिक्षा, जीवनोपयोगी सिकाइ र शिक्षाको व्यवहारिक प्रयोगलाई थप प्रभावकारी बनाउने दिशामा अबको यात्रा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले साक्षरताको उपलब्धिलाई दिगो बनाउँदै शिक्षामैत्री, सक्षम र समृद्ध समाज निर्माणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
बर्दिबास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रेवती पराजुलीका अनुसार नगरभित्र रहेका ९० भन्दा बढी शैक्षिक संस्थामा करिब २५ हजार विद्यार्थी अध्ययनरत छन्। ती संस्थामा करिब एक हजार शिक्षक तथा कर्मचारी कार्यरत रहेको उहाँले जानकारी दिनुभयो। नगरपालिकाले विद्यालय शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धिमा सुधार तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले साक्षर घोषणा गर्न आवश्यक ६ वटा सूचक पूरा भएपछि बर्दिबासलाई साक्षर नगरपालिका घोषणा गरिएको जानकारी दिनुभयो।
शिक्षित, सभ्य र सक्षम समाज निर्माणका लागि नगरपालिकाले योजनाबद्ध रूपमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा समुदायको सहभागिता बढाउने कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो।




कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष कहारमान स्याङ्वाले शिक्षा र शिक्षक समाजका ऐना भएको उल्लेख गर्दै शिक्षाविना समाज तथा राष्ट्रको समग्र विकास सम्भव नहुने बताउनुभयो। बर्दिबास शैक्षिक दृष्टिले परिचित नगर भए पनि नीति कार्यान्वयन र शैक्षिक सुधारका क्षेत्रमा अझै निरन्तर प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव केदार गौतमले शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका अवकाशप्राप्त शिक्षकहरूको अनुभवलाई ‘थिङ्क ट्याङ्क’का रूपमा उपयोग गरी स्थानीय शिक्षा नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले नगरपालिकाले अघि सारेका शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम सफल बनाउन सबै सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। बर्दिबासलाई पूर्ण रूपमा साक्षर र शिक्षामैत्री नगरपालिका बनाउने अभियानमा आफ्नो संस्थाको निरन्तर साथ रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्व शिक्षिका उषा ढकालले शिक्षकहरूको समर्पित सेवा, समुदायको सहयोग तथा स्थानीय सरकारको सक्रियताकै परिणामस्वरूप बर्दिबास साक्षर नगरपालिका घोषणा हुन सफल भएको बताउँदै खुसी व्यक्त गर्नुभयो।
शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख निर्मल घिमिरेले हालसम्म देशका ६९ जिल्ला साक्षर घोषणा भइसके पनि मधेश प्रदेश अझै प्रदेशस्तरमा साक्षर घोषणा हुन नसकेको बताउनुभयो। उहाँले बर्दिबासको उपलब्धि प्रदेशकै लागि प्रेरणादायी भएको उल्लेख गर्दै साक्षरताको उपलब्धिलाई दिगो बनाउन निरन्तर सिकाइ, पुस्तक अध्ययनको संस्कार विकास तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। मोबाइल उपकरणको अत्यधिक प्रयोगभन्दा पुस्तक पढ्ने बानीले ज्ञान, सिर्जनशीलता र मानसिक शान्ति अभिवृद्धि हुने भएकाले अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्न उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, शिक्षाविद्, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




