महोत्तरी जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थको गैरकानुनी बिक्री, वितरण तथा उपभोग नियन्त्रणका लागि कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधवार जारी गरेको सूचनामा बालबालिका, किशोरकिशोरी, विद्यार्थी तथा गर्भवती महिलामा सूर्तिजन्य पदार्थको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ।



सूचनाअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन प्रतिबन्ध छ। यस व्यवस्थाको उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
यस्तै विद्यालय, कलेज, अस्पताल, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरको दूरीभित्र रहेका पसल वा व्यवसायबाट सूर्तिजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको प्रशासनले पुनः स्मरण गराएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलका अनुसार ऐनविपरीतका गतिविधि गरेको पाइएमा ऐनको दफा १७ बमोजिम कानुनी कारबाही तथा दण्ड–सजाय गरिनेछ।
प्रशासनले महोत्तरीका सबै स्थानीय तह, नेपाल प्रहरी, उद्योगी–व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा निरीक्षणसमेत गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले चुरोट, बिँडी, खैनी, गुट्खा, सिगारलगायत जनस्वास्थ्यमा गम्भीर असर पार्ने सूर्तिजन्य पदार्थको अनियन्त्रित बिक्री र प्रयोग नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।




