सर्लाही – सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–३ निवासी विवेक मण्डलले शनिबार घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका हुन्। घटनामा उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीका अनुसार घाइते मण्डललाई गम्भीर अवस्थाका कारण थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।



प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरपरिवारसँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको खुलेको छ। घटना हुँदा घरमा अन्य कुनै सदस्य नरहेको पनि प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको उद्धार गरी प्रारम्भिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित अस्पतालमा थप उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएका छन्।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




