सुजाता राई
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा प्रतिमा पुरस्कार प्रतिष्ठान, विराटनगरले सोमबार साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका छ जना स्रष्टा र एक संस्थालाई नगदसहित प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।



विराटनगरस्थित परोपकार अभियान समूहको सभाहलमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षता तथा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, समाजसेवी सुरेशकुमार शर्मा, परोपकार अभियानका अध्यक्ष बाबुराम न्यौपानेसहित साहित्यकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
यस वर्षको ५० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार पाँचथरका साहित्यकार मनु योङहाङलाई प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार झापास्थित श्री सरस्वती कन्या गुरुकुलमलाई प्रदान गरिएको थियो।

त्यसैगरी ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार प्रा. डा. प्रभा भट्टराई आचार्य, दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार नाटककार तथा लेखक घिमिरे युवराज तथा २१ हजार रुपैयाँ राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि उमानाथ भट्टराई ‘अचल’लाई प्रदान गरियो।
षडानन्द प्रतिभा पुरस्कार उदयपुरका साहित्यकार पुण्य कार्की र मोरङका कवि उमेश लुइँटेललाई संयुक्त रूपमा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, साहित्य र संस्कृतिको संरक्षणबाट समाजको मौलिक पहिचान जोगिने उल्लेख गर्दै स्रष्टाहरूको योगदानको राज्यले उच्च सम्मान गर्नुपर्ने बताए। अध्यक्ष न्यौपानेले प्रतिष्ठानले स्थापना कालदेखि उत्कृष्ट कृति र व्यक्तित्वको मूल्याङ्कनका आधारमा पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए।

सम्मानित व्यक्तित्वहरूको परिचय साहित्यकार प्राज्ञ विवश पोखरेलले प्रस्तुत गरेका थिए भने मनु योङहाङको सम्मानपत्र वाचन गजलकार मधु पोखरेल, प्रा. डा. प्रभा भट्टराई आचार्यको गोकुल अधिकारी, श्री सरस्वती कन्या गुरुकुलमको प्रतिमा निरौला, घिमिरे युवराजको अनन्त न्यौपाने, उमानाथ भट्टराई ‘अचल’को युवराज सुवेदी, पुण्य कार्कीको कविता केशरी तथा उमेश लुइँटेलको कवि मञ्जुश्री गिरीले गरेका थिए।
पुरस्कार संस्थापक विश्वमञ्जरी बराल, विष्णुप्रसाद पोखरेल, दीनबन्धु गोयललगायतले पुरस्कार राशि हस्तान्तरण गरेका थिए भने विभिन्न दाताका तर्फबाट सम्मानसमेत समर्पण गरिएको थियो।
वि.सं. २०३९ मा स्थापना भएको प्रतिमा पुरस्कार प्रतिष्ठानका संस्थापक डा. नगेन्द्र चापागाईं र दधिराज सुवेदी विशेष संरक्षक रहेका छन्। प्रतिष्ठानमा ४६ जना आजीवन सदस्य र २ सय ६३ जना सदस्य आबद्ध रहेको जानकारी दिइयो।
प्रतिष्ठानका सचिव दिनेश सुवेदीले सञ्चालन सम्हाले । उक्त कार्यक्रममा दुई सयभन्दा बढी साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीको सहभागिता रहेको थियो।




