महोत्तरी – श्री राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजार, गौशाला–१२ ले शैक्षिक सत्र २०८३ को असार महिनाको उत्कृष्ट शिक्षकका रूपमा बाली विज्ञान विषयका शिक्षक श्री महेन्द्र मल्लाह लाई सम्मान गरेको छ।
विद्यालय, विद्यार्थी तथा समग्र शैक्षिक क्षेत्रमा उहाँले पुर्याउनुभएको उत्कृष्ट योगदान, अथक मेहनत, लगनशीलता र समर्पणको उच्च मूल्याङ्कन गर्दै उहाँलाई ‘असार महिनाको उत्कृष्ट शिक्षक’ सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।



विद्यालयले उत्कृष्ट कार्य गर्ने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना ‘उत्कृष्ट शिक्षक’ छनोट गरी सम्मान गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत असार महिनाका लागि महेन्द्र मल्लाह उत्कृष्ट शिक्षकका रूपमा चयन हुनुभएको हो।
मल्लाह नियमित रूपमा विद्यालय उपस्थित भई गुणस्तरीय पठनपाठनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। साथै, उहाँले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न विभिन्न अतिरिक्त तथा सहपाठ्यक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको विद्यालयको भनाइ छ।
विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ सरल, अनुशासित, मेहनती र लोकप्रिय शिक्षकका रूपमा परिचित मल्लाहको योगदानको कदर गर्दै विद्यालयले उहाँलाई सम्मान गरेको हो। विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने शिक्षकलाई यस्तै प्रकारका सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




