जनकपुरधाम । सुनसरी जिल्लामा घटेको घटनालाई लिएर सामाजिक सद्भावमा पर्न सक्ने असरलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाईमा आज जनकपुरधाममा सद्भाव वैठक सम्पन्न भएको छ ।
जिल्ला सामाजिक सदुभाव सर्वपक्षीय समितिको वैठकमा सदियो देखि स्थापित भएको सामाजिक सद्भावलाई अक्षुण राख्दै नेपालको पहिचानको रुपमा रहेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक युक्त सहिष्णु समाजको राष्ट्रिय पहिचानलाई कायम राख्दै जिल्ला भित्र सामाजिक सद्भाव कायम राख्ने सहमति भएको हो ।
६ बुदाको अन्य सहमतिहरुमा धनुषा जिल्ला तथा सदरमुकाममा अवाच्छित गतिविधि रोक्नका लागि विभिन्न धर्म, समुदायका साथै नागरिक समाजका अगुवा, बुद्धिजीवि, राजनीतिक दल, संघ संस्था तथा स्थानीय तहका जनप्रतिनिधिहरुले निरन्तर पहल गर्ने निर्णय भएको छ ।
वैठकले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विगार्ने किसिमका सामाग्रीहरु राख्ने माथि मुलुकी अपराध सहिता ऐन २०७४ एवं विद्युतीय कारोवार ऐन २०६३ तथा अन्य प्रचलीत कानून अनुसार कार्यवाही हुने निर्णय गरेको छ ।
यसका साथै कुनै प्रकारको शान्तिपूर्ण विरोधको कार्यक्रम गर्दा स्थानीय प्रशासनसंग पूर्व स्वीकृत लिएर मात्र गर्ने निर्णय जिल्ला सामाजिक सद्भाव समितिको वैठकले गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले वैठकपछि जानकारी दिनु भयो ।
यसका साथै सुनसरी जिल्लामा भएको दुःखद घटनाको निष्पक्ष छानविन गर्न तथा दोषि माथि कडा कार्यवाहीका लागि गृहमन्त्रालयमा लेखी पठाउने निर्णय सद्भाव समितिको वैठकले निर्णय गरेको छ । वैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मिलेर वसेको हाम्रो समाजमा कुनै प्रकारको सामजिक सद्भाव विगार्ने काम कही कतैवाट हुन नहुने बताउनु भयो ।
वैठकको अध्यक्षता गर्दै सद्भाव समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले विश्वमा शान्ति, करुणा तथा सहिष्णु एवं मर्यादाको शन्देश दिने जनकपुरधाम तथा धनुषा जिल्लामा सामाजिक सद्भाव विगार्ने काम कही कतैवाट नहुने प्रतिबद्धता आउनु सुखद भएको बताउनु भयो ।
जिल्ला सामाजिक सद्भाव समितिको वैठकमा विभिन्न राजनीतिक दलका जिल्ला स्थित प्रमुखहरु तथा प्रतिनिधिहरु, विभिन्न धार्मिक संगठनका धर्मगुरुहरु, धार्मिक संस्थाका पदाधिकारीहरु, नागरिक समाजका अगुवा तथा बुद्धिजीविहरु, ञ्चिारकर्मीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेका थिए ।









