महोत्तरी – औरही नगरपालिकामा व्यवस्थित खेलमैदानको अभावका कारण स्थानीय युवा तथा खेलाडीले नियमित अभ्यास गर्न नपाउँदा उनीहरूको खेल क्षमता विकास प्रभावित भएको छ। फुटबल, क्रिकेट, भलिबललगायत विभिन्न खेलमा रुचि र प्रतिभा भएका युवाहरू भए पनि अभ्यास र प्रशिक्षणका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरू अवसरको खोजीमा भौँतारिन बाध्य भएका छन्।
स्थानीय खेलाडीका अनुसार प्रतियोगिता नजिकिँदा अभ्यासका लागि उपयुक्त स्थान खोज्नुपर्ने अवस्था छ। नियमित प्रशिक्षणको अभावले खेल कौशल सुधार गर्न कठिनाइ हुने र अन्य क्षेत्रका खेलाडीसँग प्रतिस्पर्धा गर्न समेत चुनौती थपिएको उनीहरूको भनाइ छ।



औरही नगरपालिका–५ का युवा अजयकुमार मुखियाले खेल्ने उपयुक्त मैदान नहुँदा नियमित अभ्यास गर्न समस्या भएको बताउनुभयो। नगरपालिकाले व्यवस्थित खेलमैदान निर्माण गरे स्थानीय खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने उहाँको भनाइ छ।
यस्तै, औरही–१ का स्थानीय खेलाडी मुकेशकुमार साहले प्रतियोगिताको तयारीका लागि आवश्यक अभ्यास गर्ने स्थान नहुँदा खेलाडीको क्षमता विकासमा प्रत्यक्ष असर परेको बताउनुभयो। उहाँका अनुसार औरहीमा फुटबल, क्रिकेट र भलिबलप्रति युवाको आकर्षण उच्च भए पनि अभ्यासका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरूले नियमित प्रशिक्षण लिन सकेका छैनन्।
औरही–९ का स्थानीयवासी मुकेशकुमार महतोले नगर क्षेत्रमा खेलकुदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको बताउनुभयो। युवाको सङ्ख्या बढ्दै गए पनि उनीहरूका लागि खेल्ने उचित वातावरण निर्माण हुन नसकेको उहाँको भनाइ छ।
युवालाई कुलतबाट जोगाउन खेलकुद प्रभावकारी
औरही–२ का अभिभावक घनश्याम यादवले खेलमैदानको अभावलाई खेलाडीको मात्र नभई समाजको पनि समस्या भएको बताउनुभयो। युवालाई खेलकुदमा सक्रिय बनाउन सके उनीहरू गलत संगत र कुलतबाट टाढा रहने उहाँको विश्वास छ।
उहाँले युवालाई समयमै खेलकुद, शिक्षा तथा सिर्जनात्मक गतिविधिमा जोड्न नसके कुलतको जोखिम बढ्ने भएकाले स्थानीय तहले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रतिभा छ, पूर्वाधार छैन : प्रशिक्षक
औरही नगरपालिकाका खेल प्रशिक्षक ज्ञानेन्द्र यादवले स्थानीयस्तरमा प्रतिभावान् खेलाडीको कमी नरहेको तर खेलमैदान, खेल सामग्री र नियमित प्रशिक्षणको अभावले उनीहरूको क्षमता विकासमा बाधा पुगेको बताउनुभयो।
उहाँका अनुसार फुटबल, क्रिकेट र भलिबलमा युवाको आकर्षण उत्साहजनक भए पनि अभ्यासका लागि आवश्यक वातावरण नहुँदा खेलाडीले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सकेका छैनन्। खेलकुद पूर्वाधारको विकाससँगै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सके स्थानीयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने उहाँको भनाइ छ।
राष्ट्रपति रनिङ शिल्ड हुन्छ,अभ्यास गर्ने मैदान छैन
औरही नगरपालिकाले प्रत्येक वर्ष ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ। विद्यालयस्तरका विद्यार्थी र युवालाई प्रतियोगितामार्फत खेलकुदमा सहभागी गराइए पनि वर्षभरि नियमित अभ्यासका लागि व्यवस्थित खेलमैदानको अभाव कायमै रहेको स्थानीयको गुनासो छ।
स्थानीयवासीले प्रतियोगिता आयोजना गर्नु सकारात्मक भए पनि त्यसलाई प्रभावकारी बनाउन खेलमैदान, खेल सामग्री, प्रशिक्षक र नियमित अभ्यासको वातावरण अपरिहार्य रहेको बताएका छन्। यस्तो व्यवस्था भए स्थानीय प्रतिभालाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुर्याउन सकिने उनीहरूको विश्वास छ।
जग्गा अभाव मुख्य चुनौती : नगर प्रमुख
औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले खेलमैदान निर्माणका लागि पर्याप्त जग्गा उपलब्ध नभएकाले हालसम्म व्यवस्थित खेलमैदान बनाउन नसकिएको बताउनुभयो।
उहाँका अनुसार खेलमैदान निर्माणका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्ने तथा सम्भावित विकल्प खोज्ने प्रयास भइरहेको छ। युवाको प्रतिभा विकास र खेलकुद प्रवर्द्धनप्रति नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आवश्यक जग्गा उपलब्ध हुनासाथ पूर्वाधार निर्माण अघि बढाइने जानकारी दिनुभयो।
पूर्वाधार विकासको अपेक्षा
स्थानीयवासीले खेलमैदानका लागि उपयुक्त जग्गा व्यवस्थापन, सम्भावित स्थानमा खेल पूर्वाधार निर्माण, भएका मैदानको संरक्षण तथा स्तरोन्नति र नियमित प्रतियोगिता सञ्चालनलाई प्राथमिकता दिन नगरपालिकासँग माग गरेका छन्।
उनीहरूको भनाइमा खेलकुद पूर्वाधारको विकासले खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा मात्र होइन, युवालाई सकारात्मक गतिविधिमा जोड्दै गलत संगत तथा कुलतको जोखिम न्यूनीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ।





