कुनै समय जनकपुरधाम, जलेश्वर, गौर, लाहान, सिरहा र वीरगञ्जका सडकहरूमा पाइडलबाला रिक्साको घण्टीको आवाज सुनिनु दैनिकीजस्तै थियो। बजारका चोक–गल्लीमा यात्रु ओसार्ने प्रमुख साधनका रूपमा परिचित पाइडलबाला रिक्सा मधेसको शहरी जीवनशैलीको अभिन्न हिस्सा थियो। बिहानदेखि साँझसम्म रिक्साको लाम लाग्ने दृश्य अहिले भने इतिहास बन्दै गएको छ।
प्रविधिको विकाससँगै विद्युतीय (इ–रिक्सा) को प्रयोग बढेपछि दशकौँसम्म हजारौँ परिवारको जीविकोपार्जनको आधार बनेको पाइडल रिक्सा अहिले लगभग विस्थापित नै भइसकेको छ।



सडकमा अहिले इ–रिक्साको चाप बढ्दो छ। कम समयमै धेरै यात्रु ओसार्न सक्ने, यात्रुलाई सहज र चालकलाई पनि कम शारीरिक श्रम पर्ने भएकाले अधिकांश यात्रु इ–रिक्सातर्फ आकर्षित भएका छन्। यसको प्रत्यक्ष असर पुँजीविहीन श्रमिकका रूपमा जीवन गुजार्दै आएका पाइडल रिक्सा चालकमाथि परेको छ। एक समय नियमित आम्दानीको आधार बनेको पेसा अहिले वृद्ध चालकहरूको अन्तिम सहाराजस्तो मात्र बनेको छ।
महोत्तरीको मूल भन्सार सिमानाका जलेश्वर–भिट्ठामोड वारी पारी गर्न र त्यस आसपासको क्षेत्रमा पाइडबाला रिक्सा ठेलिरहेका वृद्ध चालकहरु अझ देखिन्छन् ।
जलेश्वर नगरपालिकाको सीमासँगै जोडिएको वडा नम्बर ३ का रामबहादुर महरालाई दुई दशक अघिसम्म रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नु पर्दैनथ्यो। चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउनको लागि भ्याइनभ्याइ हुने गर्थ्यो। त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरह्नुभएको थियो ।
तर, विगत पाँच–सात वर्षयता भने उहाँजस्तै भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ। अहिले ५१ वर्षिय महरालाई रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाउनुहुन्छ।
“२० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउन भ्याइनभ्याइ हुने गर्थ्यो। त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गर्थ्यो,” उहाँले भन्नुभयो, “अचेल त चोक–चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ। अचेल त दिनको ४–५सय रूपैयाँ कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ।”
तीन छोरी र दुई छोराका पिता महरालाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोख्नुभयो। “अहिले महँगीले आकाशै छुम्ला जस्तो गरिसक्यो। बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिँदा पनि मुस्किलले ५ सय रूपैयाँ कमाउन धौधौ भइसकेको छ,” उहाँले भन्नुभयोे, “त्यो ५ सयमा पनि २ सय रूपैयाँ त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ।”
यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन्। अधिकांश रिक्सा चालकले दैनिक औसतमा १ सय ५० रूपैयाँदेखि २ सय रूपैयाँसम्म भाडा तिरेर साहुको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन्।
“रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तव्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुचि देखाउँदैनन्,” रिक्सा चालक महराले भन्नुभयोे, “मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र?”
उहाँले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोख्नुभयो, “५० हजार पर्ने रिक्सा त आफैँ किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो”, चालक महराले भन्नुभयो।
प्राचीन तथा व्यापारिक सहर जनकपुरधाममा पनि पहिला जस्तो रिक्सा गुड्न छोडेको छ।
जनकपुरधाममा रिक्सा चलाउँदै आइरहेका ४९ वर्षिय लक्ष्मण चौधरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताउनुहुन्छ। “अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,” उहाँले भन्नुभयो, “रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन। तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि।”
भिट्ठामोडमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन्। भारतको विहार राज्यअन्तर्गतको सितामाढीका ६० वर्षिय रमेश पासवानको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु घटेको अनुभव सुनाउनुहुन्छ।
“मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,” उहाँले भन्नुभयो, “जलेश्वर भिट्ठामोड सुरसन्ड मै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो। तर अचेल रिक्सा चढ्ने यात्रु भने घटेकोघट्यै छन्। यस्तै अवस्था रहीरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ”, उहाँले भन्नुभयो, “बेटरीवाला अटोरिक्साले हाम्रो काम जति सबै खोसेका छन्। कसरी टिक्नु खोइ!”
रिक्सा चालक पासवानका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन्। “छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सापर्ने गर्छ,” उहाँले भन्नुभयो, “पहिले त रिक्सा चढ्न हानाथाप हुने गर्थ्यो। अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन्।”
जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ७४ वर्षीय घनश्याम झा यस परिवर्तनका साक्षी मात्र होइनन्, यसको पीडा पनि भोगिरह्नु भएको अर्को पात्र हुनुहुन्छ। उहाँले ४१ वर्षदेखि एउटै पाइडल रिक्सा चलाइरह्नु भएको छ। भारतको उमगाँवबाट ८०० रुपैयाँमा किनेर ल्याएको त्यही रिक्सा आज पनि झाको जीवनको आधार बनेको छ।
उहाँका अनुसार एक दशकअघि यहि रिक्सा नै जनकपुरको मुख्य सार्वजनिक सवारी थियो। यात्रु ओसारेर दिनभरि राम्रो आम्दानी हुन्थ्यो। तर अहिले यात्रु इ–रिक्सामा चढ्न थालेपछि उहाँको आम्दानी निकै घटेको छ।
“बुढेसकालमा कमाएर पाल्ने छोराछोरी छैनन्, जग्गा–जमिन पनि छैन। यही रिक्साको आम्दानीले दुई छाक टार्ने गरेको छु,” उहाँले भन्नुभयो।
यात्रु नपाएपछि अहिले घनश्यामको रिक्सा ग्यास सिलिन्डर ढुवानी गर्ने साधन बनेको छ। बिहान पसलबाट सिलिन्डर उठाएर ग्राहकको घरसम्म पुर्याउनु नै उहाँको दैनिकी हो। “पहिले २० रुपैयाँ कमाउन बिहानदेखि बेलुकासम्म पसिना बगाउनुपर्थ्यो। अहिले समय फेरिएको छ, हाम्रो पेसा पनि फेरिएको छ,” उहाँले विगत सम्झँदै भन्नुभयो।
घनश्यामका अनुसार आफूले रिक्सा चलाउन थालेका बेला जनकपुरधाममा करिब तीन हजार पाइडलबाला रिक्सा सञ्चालनमा थिए। शिवचोक, जनकचोक, भानुचोक, रामचोक र बसपार्कमा छुट्टै रिक्सा स्ट्यान्ड हुन्थ्यो। चालकहरूको बलियो युनियन थियो। युनियनको नेतृत्व चयनमा राजनीतिक दलहरूको समेत चासो रहने गरेको अवस्था थियो। राजनीतिक आन्दोलन र सामाजिक गतिविधिमा पनि रिक्सा चालकहरूको उल्लेखनीय सहभागिता रहने गरेको उहाँ सम्झनुहुन्छ।
“अब हामी एक्का–दुक्का मात्र बाँकी छौँ। हामीले पनि यो पेसा छाड्यौँ भने नयाँ पुस्ताले पाइडल रिक्सा कस्तो हुन्थ्यो भन्ने पनि देख्न समेत पाउने छैन,” उहाँको चिन्ता छ।
जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ६८ वर्षीय रामदिनेश राउत पनि करिब ४५ वर्षदेखि यही पेसामा हुनुहुन्छ। अहिले भने उहाँको रिक्सा नियमित यात्रु बोक्नुभन्दा पर्यटक घुमाउने माध्यम बनेको छ।
“पुराना रिक्सा त अब देख्नै छाडियो। एक–दुई वटा मात्र बाँकी छन्। जनकपुर आउने पर्यटकले पुरानो रिक्सा देखेर चढ्न खोज्छन्, त्यसैले कहिलेकाहीँ उनीहरूलाई घुमाउँछु। यहीबाट आफू र श्रीमतीको खाना र औषधिको खर्च जुटाउने गरेको छु,” उहाँले बताउनुभयो।
युवा पुस्ता भने यो पेसातर्फ आकर्षित छैन। पाइडल रिक्सा चलाउन शारीरिक श्रम धेरै लाग्ने, आम्दानी कम हुने र सामाजिक प्रतिष्ठा पनि घट्दै गएको अनुभूतिले नयाँ पुस्ताले यो पेशा रोज्न छाडेको छ। इ–रिक्सा खरिद गर्न सक्नेहरूले विद्युतीय साधनतर्फ लागेका छन् भने पुँजी नभएका पुराना चालकहरू परम्परागत रिक्सामै सीमित छन्।
स्थानीय जानकारहरूका अनुसार इ–रिक्साले यात्रुलाई सहज सेवा दिएको भए पनि त्यसले हजारौँ पुँजीविहीन श्रमिकको रोजगारी विस्थापित गरेको यथार्थलाई बेवास्ता गर्न मिल्दैन। अधिकांश पाइडल रिक्सा चालकसँग वैकल्पिक सीप, पर्याप्त बचत वा अन्य आयस्रोत छैन। उमेर ढल्किएपछि उनीहरूका लागि नयाँ रोजगारीमा जान झन् कठिन बनेको छ।
कुनै समय जनकपुरका सडक किनारमा रंगीचंगी सिट, आकर्षक चित्रकारी र ह्यान्डलमा झुन्डिएका घुँघरुले सजिएका पाइडल रिक्साको लाम देखिन्थ्यो। ती रिक्सा केवल यातायातका साधन मात्र थिएनन्, जनकपुरको सांस्कृतिक पहिचान र श्रमिक जीवनको प्रतीक पनि थिए। आज ती दृश्यहरू क्रमशः हराउँदै गएका छन्।
प्रविधिको विकासलाई रोक्न सकिँदैन। तर विकासको यात्रामा विस्थापित भएका श्रमिकहरूको जीवन र जीविकालाई बेवास्ता गर्नु पनि उचित हुँदैन। पाइडल रिक्सा चालकहरूका लागि वैकल्पिक रोजगारी, सीप विकास, सामाजिक सुरक्षा तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सके आधुनिकताको लाभ र श्रमिकको सम्मानबीच सन्तुलन कायम गर्न सकिने देखिन्छ।
मधेसका सडकबाट पाइडल रिक्सा हराउँदै जाँदा एउटा सवारी साधन मात्र होइन, श्रम, संघर्ष र एउटा पुस्ताको जीविकाको इतिहास पनि विस्तारै ओझेलमा पर्दै गएको छ।





