रोशन कुमार महतो,बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिकस्थल पञ्चधुरा माई मन्दिरलाई मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बलियो बनेको छ।
मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले पञ्चधुरा माई मन्दिर क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि स्थानीय तह, पर्यटन व्यवसायी र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको क्षेत्रको विकास गर्दा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।



पञ्चधुरा माई मन्दिरको भ्रमणका क्रममा सभामुख यादवले धार्मिक स्थलको विकासका लागि मास्टर प्लान र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्ने बताए। विकासका नाममा जथाभावी संरचना निर्माण गर्दा धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वमा असर पर्न सक्ने भन्दै उनले योजनाबद्ध र वातावरणमैत्री विकासमा जोड दिए।
- “एउटा मास्टर प्लान र डीपीआर बनाएर पर्यावरणमैत्री, संस्कृतिमैत्री र सनातन धर्मको रक्षाको सन्देश जाने गरी यो ठाउँलाई पर्यापर्यटनका रूपमा विकास गर्न आवश्यक छ,” सभामुख यादवले भने।
उनले धार्मिक स्थललाई स्वच्छ र सफा राख्ने विषयमा स्थानीयस्तरबाटै संकल्प आवश्यक रहेको बताए। पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारबीच सहकार्य भए पञ्चधुरा माई क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले पञ्चधुरा माई मन्दिर बर्दिबास बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको र धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताए।
उनका अनुसार मन्दिर परिसरमा करिब १३ बिघा क्षेत्रफल रहेको छ। पछिल्लो दुई वर्षमा पर्यटन व्यवसायीहरूको पहलमा परिसरमा सानो पार्क निर्माण तथा पोखरी सौन्दर्यीकरणलगायतका काम गरिएको छ। अझै धेरै पूर्वाधार निर्माणको आवश्यकता रहेको भन्दै गौतमले पञ्चधुरालाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।
गौतमले पञ्चधुरा माईसँग जोडिएको ऐतिहासिक कथनसमेत उल्लेख गरे। उनका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले यस क्षेत्रमा सेतो बाघ देखेको भन्ने स्थानीय इतिहाससँग यो क्षेत्र जोडिएको छ।
प्रगतिशील लेखक सङ्घ, नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले धार्मिक, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए।
उनले होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको पहलमा सभामुख यादवलाई पञ्चधुरा माई क्षेत्रको भ्रमण गराइएको जानकारी दिए। यसअघि गत वर्ष मधेस प्रदेशका मुख्यमन्त्रीलाई समेत उक्त क्षेत्रको भ्रमण गराइएको उनले बताए।
घिमिरेले स्थानीय धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार–प्रसार र प्रवर्द्धनले बर्दिबास नगर, महोत्तरी जिल्ला हुँदै समग्र मधेस प्रदेशको पर्यटन विकासमा योगदान पुर्याउने बताए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बर्दिबास नगरपालिका–४ का वडाध्यक्ष अक्कलबहादुर तामाङले पञ्चधुरा माई मन्दिरको विकासका लागि प्रदेश सरकारबाट थप सहयोगको अपेक्षा रहेको बताए। उनले यसअघि पनि प्रदेश सरकारबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा आवश्यक पूर्वाधार विकासमा थप सहयोग गर्न आग्रह गरे।







