महोत्तरी – बर्दिवास नगरपालिका–पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा साहित्यिक तथा अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर–सदन हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीको बौद्धिक विकास, तार्किक क्षमता तथा सामान्य ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यालयका विभिन्न सदनका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।



विद्यालयका प्रधानाध्यापक सूर्यनारायण दासको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार महतोको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा प्रशान्त, आन्ध्रा, हिन्द, कुमेरु र सुमेरु सदनका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा समसामयिक विषय, विज्ञान, इतिहास, भूगोल तथा पाठ्यक्रममा आधारित विभिन्न विषयबाट प्रश्न सोधिएको थियो। विद्यार्थीले विभिन्न प्रश्नको उत्तर दिँदै आफ्नो ज्ञान, तार्किक क्षमता तथा प्रस्तुतीकरण कौशल प्रदर्शन गरेका थिए। प्रतियोगितामा सदनहरूबीच कडा प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा कुमेरु सदन प्रथम, सुमेरु सदन द्वितीय तथा आन्ध्रा सदन तृतीय भएका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख अतिथि अमृतकुमार महतोले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले हाजिरजवाफजस्ता प्रतियोगिताले विद्यार्थीको सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। यस्ता गतिविधिले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै अध्ययनप्रति थप रुचि र उत्साह जगाउने भएकाले विद्यालयले आगामी दिनमा पनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
प्रधानाध्यापक सूर्यनारायण दासले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा पहिचान र प्रस्फुटनका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीको क्षमता विकासका लागि यस्ता प्रतियोगिता उपयोगी हुने उल्लेख गर्दै आगामी दिनमा पनि थप रचनात्मक तथा ज्ञानवद्र्धक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
प्रतियोगितामा उत्कृष्ट हुने सदन तथा सहभागी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरणसँगै कार्यक्रम समापन गरिएको विद्यालयले जनाएको छ।





