धनुषा । नाप नक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालय धनुषाले बिहीबार उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समिति–१ देखि ९ वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अद्यावधिक, दर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए।



नापी कार्यालय धनुषाले नाप नक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक गरी दर्तासम्बन्धी प्रक्रिया अघि बढाएपछि ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको जनाएको छ।
वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। पुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र आर्थिक कारोबार गर्न बाटो खुलेको स्थानीयको भनाइ छ।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले नाप नक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँका अनुसार नाप नक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुङ्ग्याउँदै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो।
गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गा लामो समयदेखि स्थानीयले भोगचलन गर्दै आए पनि औपचारिक स्वामित्वको प्रमाण नहुँदा उनीहरू विभिन्न समस्या झेल्दै आएका थिए। जग्गाधनी पुर्जा प्राप्त भएपछि सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै जग्गासम्बन्धी कारोबार तथा प्रशासनिक काममा समेत सहज हुने अपेक्षा गरिएको छ।
नापी कार्यालयका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत नाप नक्सा सम्पन्न भएका तथा हाल मिथिला बिहारी नगरपालिका–३ मा पर्ने गाउँ ब्लकका ३१० परिवारलाई पुर्जा वितरण गरिएको हो।
कार्यालयले धनुषाका अन्य क्षेत्रमा पनि नाप नक्सा सम्पन्न भएर दर्ता प्रक्रिया पूरा हुन बाँकी गाउँ ब्लक तथा स्ववासी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। यसबाट लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका अन्य परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।




