लक्ष्मी चौधरी,जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन सामाजिक परीक्षण अनिवार्य गरेको छ ।
उपमहानगरपालिकाले सोमबार एक सूचनामार्फत सामाजिक परीक्षण नगरेका सबै सामुदायिक विद्यालयलाई तत्काल प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।



उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको जारी सूचनामा नगरभित्रका सबै सामुदायिक विद्यालयलाई सामाजिक परीक्षण गराउन निर्देशन दिएको छ । विद्यालयहरूले सामाजिक परीक्षण नगराउने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको शाखाले जनाएको छ ।
शाखा प्रमुख अन्जु पाण्डेका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १७१ क तथा विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम प्रत्येक सामुदायिक विद्यालयले सामाजिक परीक्षण गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सामाजिक परीक्षण सम्पन्न गरेपछि त्यसको प्रतिवेदन शिक्षा, युवा तथा खेलकुद विकास शाखामा अनिवार्य रूपमा पेश गर्नसमेत उपमहानगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ ।
विद्यालयमा उपलब्ध स्रोतसाधनको उपयोग, आर्थिक कारोबार, शैक्षिक उपलब्धि, व्यवस्थापकीय गतिविधि तथा विद्यालय र समुदायबीचको सम्बन्धबारे सरोकारवालालाई जानकारी गराउन सामाजिक परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ । यस प्रक्रियाले विद्यालयको कामकारबाहीप्रति समुदायको निगरानी र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
विद्यालयको नियमित शैक्षिक गतिविधिसँगै आर्थिक तथा व्यवस्थापकीय पक्षमा समेत पारदर्शिता कायम गर्न सामाजिक परीक्षण आवश्यक रहेकाले सबै सामुदायिक विद्यालयलाई तोकिएको व्यवस्था पालना गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।
सामाजिक परीक्षणको प्रतिवेदन स्थानीय तहमा पेश गर्नुपर्ने व्यवस्थाले विद्यालय सञ्चालनमा समुदायको सहभागिता र सार्वजनिक जवाफदेहिता बढाउने उद्देश्य राखेको छ । तर, विद्यालयहरूले सामाजिक परीक्षण नै नगर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले पुनः ताकेता गरेको हो ।




