काठमाडौँ– बलात्कार, यौनजन्य हिंसा तथा बलात्कारपछिको हत्या जस्ता जघन्य अपराधमा सजाय बढाउने गरी कानुन संशोधन गर्न सांसदहरूले माग गरेका छन् । बारा, सप्तरीलगायतका जिल्लामा पछिल्लो समय भएका बालिका तथा किशोरीमाथि बलात्कार तथा हत्याका घटनाबारे दुःख व्यक्त गर्दै सांसदले सजाय बढाउन माग गरेका हुन् । प्रचलित कानुन संशोधनका लागि विधेयक ल्याउन पनि उनीहरूले माग गरेका छन् ।
प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको सजायको माग गरेका छन् । सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले पीडित परिवारसँग सहमतिका क्रममा आमाबुवाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिएकोमा असन्तुष्टि जनाउनुभयो । आचार्यले बारा घटनाका आरोपितको मेडिकल जाँचका क्रममा भएको सोधपुछको भिडिओ बाहिर आएकोमा पनि असन्तुष्टि जनाउनुभयो ।



सांसद प्रमिला कुमारीले बलात्कारका घटनाका पीडितले शीघ्र न्याय पाउने गरी कानुन संशोधन हुनुपर्ने माग गर्नुभयो । सांसद श्रद्धा कुँवरले बालिकामाथि भइरहेको बलात्कार, होस्टेलमा भइरहेका आपराधिक घटनालगायतमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद साजिदा खातुनले बालिकामाथि भएका बलात्कारका घटनामा दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद पद्माकुमारी अर्यालले बारामा बालिकामाथि भएको बलात्कारपछिको हत्या घटनाको विरोध जनाउँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गर्नुभयो । सांसद ज्ञानबहादुर शाहीले बलात्कारसम्बन्धी कानुन संशोधन सरकारले चाँडोभन्दा चाँडो अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सांसद युवराज दुलालले जघन्य अपराधका घटना भएपछि कारबाहीको प्रश्न बनिरहँदा घटना न्यूनीकरणका लागि सरकारले उचित कदम चाल्नुपर्ने धारणा राख्नुभयो । सांसद खुश्बु ओलीले जघन्य अपराधका घटनामा मृत्युदण्डको व्यवस्था किन नगरिएको भन्दै प्रश्न गर्नुभयो ।
सांसद नीतिमा कार्की भण्डारीले बारा र सप्तरीमा भएका बालिका बलात्कार र हत्याका घटनाले मधेशमा बालिका असुरक्षित देखिएको बताउनुभयो ।
सांसद विदूषी राणाले बारामा भएको बालिका बलात्कारको घटना दुःखद भएको बताउनुभयो । सांसद समीक्षा बाँस्कोटाले बलात्कार जस्ता जघन्य अपराधका घटना न्यूनीकरणका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद अप्सना बानुले जघन्य अपराधमा संलग्नलाई कानुन संशोधन गरेर भए पनि कडा सजायको व्यवस्था गर्न माग गर्नुभयो । सांसद अनुष्का श्रेष्ठले बलात्कारका पीडकलाई कडा सजायको माग गर्नुभयो । सांसद विश्वराज पोखरेलले बलात्कारलगायतका जघन्य घटना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । सांसद पोखरेलले बलात्कारको तथ्याङ्क भयावह रहेको पनि बताउनुभयो । एक वर्षको अवधिमा २४ सय बलात्कारका घटना भएको उहाँले बताउनुभयो । घटनामध्ये १० प्रतिशत घटनामा १० वर्षमुनिका बालिका पीडित रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै सांसद आकृति अवस्थीले सार्वजनिक यातायात, विद्यालय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो । सांसद आशिका तामाङले बलात्कार जस्ता घटनामा संलग्नलाई कडा सजाय हुनुपर्ने धारणा राख्नुभयो । सांसद एलिजा गुरुङले यौन हिंसा रोक्न विद्यालयस्तरमै शिक्षा दिनुपर्ने बताउनुभयो । सांसद रञ्जु न्यौपानले पनि यौन शिक्षालाई विद्यालयको पाठ्यक्रममा सामेल गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद अमरेशकुमार सिंहले हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रणका लागि सरकार क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । सांसद क्रान्तिशिखा धितालले घरेलु हिंसा र यौन दुव्र्यवहारका घटनामा प्राप्त उजुरीलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामा सांसदहरू खगेन्द्र सुनार, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बराल, एशुदाकुमारी बराल, आनन्दबहादुर चन्द, कालीबहादुर सहकारी, कुसुम महर्जन, खिमा विक, गणेश कार्की, गणेश धिमाललगायतले यौन हिंसाका घटनाका दोषीलाई कडा सजायको व्यवस्था गर्न माग गर्नुभयो ।-गोरखापत्र अनलाइन




