जनकपुरधाम – रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न विपद्मा उद्धार, राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, पदाधिकारी तथा कर्मचारीले एक दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
जनकपुरधामस्थित मधेश भवनमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो।



बैठकपछि सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री समीर भट्टराईले विपद् व्यवस्थापनका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको जानकारी दिनुभयो।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन मधेश प्रदेश सरकारले प्रदेशवासी, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई अपिल गरेको छ।
भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




