महोत्तरी – रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोपछि रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवाका विभिन्न स्थानमा रहेका महोत्तरीका १८ जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको विवरणअनुसार १९ जनामध्ये जलेश्वर–९, पर्कौलीका राकेश कुमार यादव सम्पर्कमा छन् ।



धेरैजसो त्याँहास्थित हाईड्रोपावरमा काम गर्नेहरु सम्पर्कविहिन भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा हरिविकास कुमार यादव, पप्पु कुमार मण्डल, मनिष मण्डल, सितल बहादुर लुंगेली, विजय थापा मगर, सुसिल लाल दास, श्रीकेश यादव, सन्तोष कुमार ठाकुर, युवराज पाण्डे, सौभाग्य बिष्ट, जोया राना मगर, सचिन कुमार यादव, आदित नारायण यादव, बिपिन कुमार मण्डल, गंगाराम मण्डल, हासान अन्सारी र विकास भारती रहेका छन् ।
उनीहरु त्रिशूली हाइड्रोपावर, अपर त्रिशूली–१, रसुवा हाइड्रोसहित विभिन्न आयोजना तथा कम्पनीमा कार्यरत थिए । केही भने रोजगारी, व्यापार तथा अन्य कामका लागि रसुवा पुगेका थिए ।
यसमध्ये मटिहानीका गंगाराम मण्डल पर्यटक लिएर काठमाडाैंबाट रसुवा तर्फ गएका थिए भने बर्दिवास–१ का विकास भारती काठमाडौंबाट रसुवातर्फ कामको सिलसिलामा गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सम्बन्धित परिवारजनले बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै खोजी तथा उद्धारका लागि आग्रह गरेका छन् । प्रशासनले पनि सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।




