गौशाला (महोत्तरी) । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठुलो जनधनको क्षति भएपछि महोत्तरीका चार स्थानीय तहले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बर्दिबास, भंगहा, गौशाला र औरही नगरपालिकाले गरी कुल ४२ लाख ५१ हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।



स्थानीय तहहरूले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।
बर्दिबास नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १२ लाख ५१ हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
नगरपालिकाले विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको नगर प्रमुख प्रह्लाद क्षेत्रीले जनाउनुभयो ।
त्यस्तै, भंगहा नगरपालिकाले १५ लाख रुपियाँ विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेको छ । नगरप्रमुख सञ्जीव कुमार साहद्वारा जारी सन्देशमा देशमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नगरपालिकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गर्ने उल्लेख छ ।
यसअघि गौशाला नगरपालिकाले १० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । भोटेकोशी बाढीपीडितका लागि मानवीय पहलअन्तर्गत उक्त रकम सहयोग गरेको नगर प्रमुख डा. दीपेन्द्र महतोले जनाउनुभयो । विपद्को कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाको साथ र सहयोग निरन्तर रहने सन्देशमा उल्लेख गरिएको छ ।
त्यसैगरी, औरही नगरपालिकाले ५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेको छ । नगरप्रमुख प्रदीपकुमार खड्काले विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नगरपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
चारवटै नगरपालिकाले गरेको सहयोगको उद्देश्य विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाका काममा सहयोग पुर्याउनु रहेको जनाएका छन् ।
भोटेकोशीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।
विपद्को प्रभाव महोत्तरीमा प्रत्यक्ष नपरे पनि रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवालगायतका क्षेत्रमा पुगेका महोत्तरीका नागरिकसमेत प्रभावित भएका छन् । बाढीपछि महोत्तरीका विभिन्न स्थानीय तहका नागरिक सम्पर्कविहीन भएको विवरणसमेत सार्वजनिक भएको छ ।




