जनकपुरधाम । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि जनकपुरधाममा सञ्चालन गरिएको राहत सामग्री सङ्कलन अभियानमा स्थानीय व्यवसायी, महिला उद्यमी तथा विभिन्न सङ्घसंस्थाले उल्लेख्य सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा सञ्चालन भइरहेको अभियानमा कपडा, खाद्यान्न, जुत्ता, मच्छरजाली, बालबालिकाका कपडालगायत दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको हो ।



अभियानअन्तर्गत रञ्जित प्लाइका सञ्चालक मोहन साह र विकास साहले १०० थान ट्र्याकसुट उपलब्ध गराउनुभएको छ । गोबरौरा–७ का पशुराम साहले बालबालिकाका फ्रक तथा महिलाका शल गरी ३० थान सहयोग गर्नुभएको छ ।
त्यसैगरी पवन रेडिमेडका सञ्चालक पवन गुप्ताले विभिन्न प्रकारका १०० थान कपडा तथा सामग्री प्रदान गर्नुभएको छ । महिला उद्यमी रिंकु साह र सुनीता ठाकुरले मच्छरजाली, बालबालिकाका कपडा, फ्रुटी, बिस्कुट, सर्फलगायतका सामग्री सहयोग गर्नुभएको छ ।
डिनोभो फेसन वेयरका सञ्चालक मोहम्मद नैम शाफिले बालबालिकाका १२८ थान सर्ट र तीन थान ट्र्याकसुट उपलब्ध गराउनुभएको छ । सिया कलेक्सनका सञ्चालक पप्पू साहले टी–सर्ट, बालबालिकाका कपडा, महिलाका जिन्स, ज्याकेट, कुर्तालगायतका सामग्री सहयोग गर्नुभएको छ ।
सलीम सु सेन्टरका सञ्चालक पप्पू आलमले १०० थान जुत्ता तथा शोभा रेडिमेडका हरिनारायण गुप्ताले जिन्स पेन्ट, भेस्ट र ज्याकेट गरी १०० थान सामग्री उपलब्ध गराउनुभएको छ ।
रेहान–कृष्णा, महावीर चोककी मञ्जु साहले खाद्यान्न, बालबालिकाका कपडा, साडी, जिन्स पेन्टलगायत करिब २० हजार रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको छ । कन्हैया साडी हाउसका सञ्चालक नागेन्द्र साहले ९० थान साडी प्रदान गर्नुभएको छ ।
जानकी पथस्थित गोपाल खिलौना पसलका गोपाल रौनियारले बालबालिकाका फ्रक, महिलाका सूट, पुरुषका सर्ट, बालबालिकाका भेस्ट, महिलाका टप तथा जिन्सलगायतका सामग्री सहयोग गर्नुभएको छ । उमेश एन्ड राकेश वस्त्रालयका सञ्चालक बदामी साहले २० थान साडी र २६ थान महिला सूट प्रदान गर्नुभएको छ ।
यसैगरी पुस्तक व्यवसायी सङ्घ जनकपुरधामका अध्यक्ष प्रकाश धमला, निवर्तमान अध्यक्ष सरोज चौधरीलगायत पदाधिकारी तथा पुस्तक व्यवसायीले १०१ थान ट्र्याकसुट सहयोग गरेका छन् । लक्ष्मी जनरल अर्डर सप्लायर्सका सञ्चालक बजरङ्ग साहले १६ थान रेडिमेड सूट गरी करिब १६ हजार रुपियाँ बराबरको सामग्री उपलब्ध गराउनुभएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव नरेन्द्र विक्रम साह ‘निरज’ ले विपद्को समयमा व्यवसायी तथा नागरिक समाजबाट प्राप्त सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय एकताको भावना उजागर गरेको बताउनुभयो ।
उहाँले राहत अभियानमा सहयोग गर्ने व्यवसायी, महिला उद्यमी, सङ्घसंस्था तथा व्यक्तिगत सहयोगदाताप्रति आभार व्यक्त गर्दै विपद्का समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो ।
सङ्कलन गरिएका राहत सामग्री रसुवा बाढीबाट प्रभावित परिवारसम्म पुर्याउने तयारी भइरहेको जनाइएको छ । अभियानमा थप सहयोगसमेत जुट्ने क्रम जारी रहेको सङ्घले जनाएको छ ।




