तेहरान । पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ ।
कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ । कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेस अन्तर्गतको आपतकालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारी साधनमा समेत आगलागी भएको छ ।



घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो । घाइतेलाई उद्धार गरी उपचारका लागि कुर्दिस्तान प्रान्तको राजधानी सनन्दाजस्थित अस्पतालमा पुर्याइएको होदाईले बताएका छन् । दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा




