महोत्तरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनको प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । वडा सभापति सुरञ्जन पाण्डेयले क्रियाशील सदस्यको बहुमतलाई बेवास्ता गर्दै एकतर्फी रूपमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको वडा कार्यसमितिका सचिव अनिलकुमार पाण्डेयले आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला जलेश्वर–४ मा विवाद देखिएको हो ।



वडा सचिव पाण्डेयका अनुसार असोज ४ गते सुगा गाउँमा एक व्यक्तिको घरको प्राङ्गणमा गरिएको भेलाबाट वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो । उक्त भेलामा वडाका ५१ प्रतिशत क्रियाशील सदस्यको सहभागिता नरहेको र उनीहरूको लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरिएको उहाँको दाबी छ ।
उहाँका अनुसार अधिवेशनको प्रक्रिया खुला, पारदर्शी र सबै क्रियाशील सदस्यको सहभागितामा सञ्चालन गर्न माग गर्दै असोज २ गते वडा कार्यसमितिका सचिवको अध्यक्षतामा जलेश्वर–४ मसुरपट्टीस्थित हनुमान मन्दिरको प्राङ्गणमा अधिवेशन केन्द्रित बैठकसमेत गरिएको थियो । बैठकमा ५० प्रतिशतभन्दा बढी क्रियाशील सदस्यको उपस्थिति रहेको र त्यसको माइन्युट तथा हस्ताक्षरसमेत गरिएको उहाँले बताउनुभयो ।
तर, उक्त बैठकको निर्णय तथा सदस्यहरूको मागलाई बेवास्ता गर्दै असोज ४ गते छुट्टै रूपमा अधिवेशनको प्रक्रिया अघि बढाइएको सचिव पाण्डेयको आरोप छ ।

उहाँले वडा कार्यसमितिलगायतका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया खुला र पारदर्शी रूपमा हुनुपर्ने माग गर्नुभएको छ । वडा सभापतिको चयनसमेत सहमतिका आधारमा नभई निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने उहाँको भनाइ छ ।
यसैबीच जलेश्वर–४ मा खटाइएको अधिवेशन पर्यवेक्षकको भूमिकामाथि समेत प्रश्न उठाइएको छ । अधिवेशनका लागि खटाइएका अजित ठाकुर यसअघि नेपाली कांग्रेसका बुथ सभापति रहनुभएको तथा १४औँ महाधिवेशनबाट जलेश्वर नगरपालिका–१० को वडा सभापतिमा निर्वाचित व्यक्ति भएकाले उहाँको निष्पक्षतामाथि प्रश्न उठेको वडा सचिव पाण्डेयले बताउनुभयो ।
अधिवेशनमा पर्यवेक्षकको भूमिका निष्पक्ष हुनुपर्ने भए पनि आफूहरूको गुनासो सम्बोधन गर्न तथा विवाद समाधान गर्न प्रभावकारी भूमिका निर्वाह नभएको उहाँको आरोप छ ।

वडा सचिव पाण्डेयले एकतर्फी रूपमा सम्पन्न गरिएको भनिएको अधिवेशनलाई मान्यता नदिई जिल्ला तथा केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियामार्फत पुनः अधिवेशन गराउनुपर्ने माग गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “क्रियाशील सदस्यको बहुमतलाई बाहिर राखेर गरिएको अधिवेशनले लोकतान्त्रिक प्रक्रियाको प्रतिनिधित्व गर्दैन । निर्वाचन समितिले निष्पक्ष रूपमा निर्वाचन प्रक्रिया अघि बढाएर अधिवेशन सम्पन्न गराउनुपर्छ ।”
आफूहरूको माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने उहाँले चेतावनी दिनुभएको छ ।
विवादका सम्बन्धमा वडा सभापति सुरञ्जन पाण्डेय तथा अधिवेशन पर्यवेक्षक अजित ठाकुरको पक्षबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन । कांग्रेसको जिल्ला तथा केन्द्रीय निर्वाचन समितिले विवादित वडाको अधिवेशन प्रक्रियाबारे निर्णय गर्न बाँकी रहेको जनाइएको छ।




