महोत्तरी । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोले महोत्तरीका नौ परिवारको जीवनमा समय रोकिएजस्तै भएको छ। विपद्मा परी आफन्त सम्पर्कविहीन भएपछि ती परिवारका लागि दिन, हप्ता र महिना बित्नुको अर्थ एउटै छ– आफ्नो मान्छेको खबर कहिले आउला ?
बाढीपहिरोको घटना भएको २५ दिन बितिसक्दा पनि सम्पर्कविहीन आफन्तको अवस्था यकिन हुन नसक्दा परिवारमा आशा र निराशाको दोसाँध चलिरहेको छ। मृत्युको पुष्टि भएको छैन, जीवित रहेको खबर पनि आएको छैन। त्यसैले यी परिवार न शोकमा डुब्न सकेका छन्, न खुसीसाथ आफन्त फर्किने प्रतीक्षा गर्न।



चाडपर्वको मौसम नजिकिँदै जाँदा उनीहरूको पीडा झन् गहिरिएको छ। दसैँको जमरा राख्ने, टीका लगाउने र परिवारसँग बसेर खुसी साट्ने दिन नजिकिँदै छन्। त्यसपछि तिहार र छठ पनि आउँदै छन्। तर सम्पर्कविहीन आफन्तको अनुहार नदेखी यी चाडपर्व कसरी मनाउने भन्ने प्रश्नले परिवारलाई सताउन थालेको छ।
“चाडपर्व आउँदैछ। घरमा सबैले मान्छे फर्किन्छ कि भनेर बाटो हेरेका छन्। तर अहिलेसम्म कुनै खबर छैन,” एक परिवारका सदस्यको भनाइले उनीहरूको पीडा प्रस्ट पार्छ।
दसैँमा घर फर्किने आफन्तको प्रतीक्षा सामान्यतया खुसीको प्रतीक्षा हुन्छ। तर यी परिवारका लागि यसपटक प्रतीक्षा नै पीडाको अर्को नाम बनेको छ। टीकाको थाली सजाउने हातहरू समाचारको प्रतीक्षामा छन्। तिहारमा दियो बाल्ने घरहरूमा हराइरहेका आफन्तको सम्झनाले अँध्यारो थप्ने चिन्ता छ। छठमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदा आफन्त सकुशल फर्किऊन् भन्ने प्रार्थना थपिनेछ।
यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समिति महोत्तरीले सम्पर्कविहीनका परिवारसँग स्थलगत भेटघाट थालेको छ। समितिको टोलीले हालसम्म पिपरा–३ का विकास यादव, जलेश्वर–१० का सुशीललाल दास, मटिहानी–७ का गंगाराम मण्डल र जलेश्वर–७ का हसान अन्सारीका परिवारसँग भेट गरेको छ।
भेटका क्रममा परिवारले खोजीको अवस्था, उद्धार तथा पहिचान प्रक्रियाको प्रगति र आफन्तको सम्भावित अवस्थाबारे जानकारी मागेका थिए। प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारको प्रयास भइरहेको जानकारी गराएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीन आफन्तका परिवारको पीडा अत्यन्त संवेदनशील रहेको बताउनुभयो। “परिवारले भोगिरहेको पीडालाई प्रशासनले गम्भीरतापूर्वक लिएको छ,” उहाँले भन्नुभयो, “खोजी तथा उद्धारका प्रयासबारे परिवारलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोग निरन्तर गरिनेछ।”
विपद्पछि प्रारम्भिक विवरणमा सम्पर्कविहीनको सङ्ख्या बढी भए पनि कतिपयसँग सम्पर्क स्थापित भएपछि संख्या घटेको प्रशासनले जनाएको छ। तर नौ परिवारका लागि यो संख्या अझै नौ नै छ– नौ अधुरा कथा, नौ प्रतीक्षारत घर र नौ परिवारको एउटै आशा।
विपद्को घाउ विस्तारै पुरिँदै जाला। बाटाघाटा खुल्लान्, जनजीवन सामान्य बन्ला। तर यी परिवारका लागि सामान्य जीवन त्यतिबेला मात्र फर्किनेछ, जतिबेला हराइरहेका आफन्तको यकिन खबर आउनेछ।
अहिले उनीहरूको एउटै प्रार्थना छ– “दसैँको टीकाअघि नै मेरो मान्छे फर्काइदेऊ भगवान्।”




