सुजाता राई
विराटनगर । डिग्री फुटबल क्लब, मोरङको आयोजनामा विराटनगरस्थित सयश फुटसलमा आइतबार सम्पन्न प्रथम जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिताको उपाधि एबी–५ ले जितेको छ।



फाइनल खेलमा एबी–५ र सयश फुटसलबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी प्रहारबाट गरिएको थियो। रोमाञ्चक पेनाल्टी प्रहारमा सयश फुटसललाई पराजित गर्दै एबी–५ ले उपाधि जितेको हो।

विजेता एबी–५ ले नगद २५ हजार रुपैयाँ तथा उपविजेता सयश फुटसलले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिता डिग्री फुटबल क्लबका अध्यक्ष राजु धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ प्रमुख अतिथि तथा वशिम आलम विशिष्ट अतिथि थिए।
त्यस्तै डिग्री फुटबल क्लबका सचिव धिराज के.सी., सजिद तामला, साहित्यकार तथा पत्रकार सुजाता राईलगायत अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिताको संयोजन अभिषेक धमलाले गरेका थिए भने कार्यक्रम सञ्चालन एलिशा सिग्देलले गरेकी थिइन्।






