संघीयताले आर्थिक भार बढाएको भन्ने भाष्य गलत : सभामुख यादव
धनुषा। नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले संघीयताले आर्थिक भार बढाएको भन्ने भाष्य गलत भएको बताउनुभएको छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई उद्धृत गर्दै सभामुख यादवले संघीय सरकारका पदाधिकारी तथा कर्मचारीको खर्च र प्रदेशका पदाधिकारी तथा कर्मचारीको खर्चबीचको अन्तरले नै संघीयताबारे फैलाइएको गलत भाष्यलाई खण्डन गर्ने बताउनुभयो। संघीयताको सकारात्मक पक्षबारे सञ्चार क्षेत्रले बहस चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।



नेपालमा अधिकार प्राप्तिका हरेक आन्दोलनमा सञ्चार जगत्को भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै सभामुख यादवले संघीयताको संरक्षण र यसको सकारात्मक पक्षबारे जनतालाई सुसूचित गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
पछिल्लो समय सञ्चार क्षेत्रमाथि चुनौती थपिएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा फैलिने गलत सूचना र भ्रामक सामग्रीका कारण पत्रकारितामाथि चुनौती बढेको बताउनुभयो। उहाँले अध्ययनशील र जिम्मेवार पत्रकारलाई यस्ता चुनौतीबाट विचलित नभई सत्यतथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघ आफ्नो इतिहासकै कठिन मोडमा रहेको बताउनुभयो। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार सुनिश्चित भए पनि त्यसको पूर्ण उपयोग गर्न सकिने वातावरण अझै निर्माण हुन नसकेको उहाँको भनाइ थियो।
पञ्चायती व्यवस्था, माओवादी सशस्त्र द्वन्द्वलगायत प्रतिकूल परिस्थितिमा समेत नेपाली पत्रकारिता क्षेत्रले सूचना सम्प्रेषणको जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै अध्यक्ष शर्माले अहिले पनि पत्रकारिता क्षेत्र विभिन्न चुनौतीसँग जुधिरहेको बताउनुभयो।
उहाँले वर्तमान सरकारले लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण कार्यान्वयनप्रति आवश्यक प्रतिबद्धता नदेखाएको आरोपसमेत लगाउनुभयो। पछिल्लो समय मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालका सामग्रीमा बढी विश्वास गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उहाँले यसले पत्रकारितामाथि थप चुनौती सिर्जना गरेको बताउनुभयो।
साधारणसभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले ‘धन्य धनुषा’ नामक स्मारिकाको विमोचनसमेत गरेको थियो।
महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, मिडिया काउन्सिलकी अध्यक्ष वन्दना झा, महासंघका केन्द्रीय पदाधिकारी तथा वरिष्ठ पत्रकारलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा स्वर्गीय पत्रकार उमा सिंह पत्रकारिता पुरस्कार सञ्चारकर्मी रिंकु मिश्र गायत, रामभरत साह–कनकलता उत्कृष्ट प्रतिभा पत्रकारिता पुरस्कार पत्रकार अशोक दत्त र अनिता चौधरी पत्रकारिता पुरस्कार मोहम्मद इन्तेखाब आलमलाई प्रदान गरिएको थियो। त्यस्तै, पत्रकार सपना कर्णलाई पत्रकारितासम्बन्धी उच्च शिक्षाका लागि छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
साधारणसभाको बन्द सत्रमा महासंघ धनुषाका सचिव बटुकनाथ झाले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द महतोले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको छ।





