नेपाली कांग्रेसका महत्वपूर्ण कार्यक्रमको मञ्चमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिलगायत स्वर्गीय शीर्ष नेताहरुको तस्वीर हुन्छ । वक्ताहरुले सम्बोधनका क्रममा यी नेताहरुको नाम स्मरण गर्छन्, श्रद्धा व्यक्त गर्छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले पनि बीपी, गणेशमान, सुवर्ण र निधिको स्मरण गरे, तर अलिक फरक ढंगले!



‘आज बीपीपुत्र कहाँ छन्, गणेशमानपुत्र कहाँ छन् र महेन्द्रनारायण निधिपुत्र कहाँ छन्, आजको सवाल यो होइन, आजको सवाल बीपी, गणेशमान, सुवर्ण शमशेर र निधिको आत्मा कहाँ छ भन्ने हो,’ १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा गगनले भनेका थिए, ‘बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा जहाँ भएपनि यी तीन नेताको आत्मा भने आज यहाँ (खुलामञ्चमा) छ ।’
गगनको अभिव्यक्ति बीपीपुत्र शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान र निधिपुत्र विमलेन्द्रप्रति लक्षित थियो, जो १५औं महाधिवेशनमा सामेल नभएका निवर्तमान सभापति शेरबहादुर देउवा खेमामा छन् ।
देउवापछि कांग्रेसको सभापति बन्ने आकांक्षामा थिए – बीपीपुत्र शशांक, गणेशमान पुत्र प्रकाशमान र निधिपुत्र विमलेन्द्र । तर, उनीहरुलाई समेत पछि पार्दै गगनले वर्ष दिनभित्र पार्टीका दुई महाधिवेशन (विशेष र नियमित) सम्पन्न गर्दै कांग्रेसको गुमेको शाख र शक्ति पुनर्स्थापित गर्ने कसमका साथ सभापति निर्वाचित भएका छन् ।
सभापतिमा गगन ६५८४ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीले ३७५ मत प्राप्त गरेका छन् ।
अधिकांश कांग्रेसजनहरु पार्टीका दिवंगत अग्रज नेताहरु बीपी, गणेशमान, सुवर्ण, उपाध्याय, निधि, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मको नाम लिन्छन् । तर, जब ‘आदर्श नेता’ को चयन गर्ने सन्दर्भ आउँछ, बीपीबाहेकका अन्य सबै नेता करिब विस्मृतिमा जान्छन् । सम्भवतः गगनले पनि आफ्नो आदर्श नेता बीपीलाई नै मान्छन् ।
ठीक छ, विचारका सन्दर्भमा गगनले बीपीलाई नै आदर्शपात्र मानुन् । तर, सभापतिका रुपमा भने बीपीलाई होइन, गणेशमानलाई आदर्शपात्रका रुपमा पछ्याऊन् ।
यसो गर्न सके भनेमात्र उनले सोचेजस्तो कांग्रेस बनाउन सफलता प्राप्त गर्नेछन् । राजनीतिमा नयाँ आदर्श स्थापना गर्न पनि सक्नेछन् ।
‘पद’ को कसीमा भिन्न देखिने बीपी
हो, बीपी राजनीतिक चिन्तक थिए । उनले नेपाली कांग्रेसलाई ‘प्रजातान्त्रिक समाजवाद’ को विचार दिए । नेपाली समाजलाई स्वतन्त्रता दिए । सुन्दर रचनाहरुमार्फत् नेपाली साहित्यलाई थप समृद्ध पारे । जीवनभर प्रजातन्त्रका लागि संघर्ष गरे ।
प्रधानमन्त्री छँदा सामन्तवादका अवशेष समाप्त पार्ने कोसिस गरे र छोटो अवधिमा विकास–निर्माणको खाका पनि कोरे ।
त्यहीकारण कांग्रेसजनबाट बीपीले ‘महामानव’ को सम्मान प्राप्त गरेका छन् । आफैले स्थापना गरेको पार्टी पंक्तिबाट यस्तो सम्मानको हक बीपीले राख्छन् ।
तर, जहाँसम्म पार्टी सभापति र प्रधानमन्त्रीजस्ता शक्तिशाली जिम्मेवारीको सवाल हो, यस सन्दर्भमा बीपी नेपाली समाजले खोजेको ‘आदर्शपात्र’ का रुपमा खडा हुन सक्दैनन् ।
अवसर र पदको सन्दर्भ आउँदा कतिपय बेला त उनी अत्यन्त ‘पदलोलुप’ र ‘किचकिचे’ नेताका रुपमा समेत भेटिन्छन् । भलै पार्टी पंक्तिबाट प्राप्त ‘महामानव’ को भव्य उपाधिले बीपीको यस्तो पदलोलुप र किचकिचे इतिहासमाथि पर्दा हालिदिएको छ ।
यो तथ्य सुन्दा आश्चर्य पनि लाग्ला, सुवर्ण शमशेरले स्थापना गरेको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ सँग एकतापछि निर्माण भएको ‘नेपाली कांग्रेस’ बन्नुअघिको ‘नेपाली राष्ट्रिय कांग्रेस’ का पालामा पनि बीपी सभापति थिए । ७ साउन २०३९ मा निधन हुँदा पनि पार्टीको नेतृत्व (सभापति) बीपीकै काँधमा थियो ।
पार्टी सभापति नहुँदा पनि बीपी आफै सर्वेसर्वा देखिने अभ्यास गर्थे ।
अन्य व्यक्ति नेतृत्वमा नहुँदा आफैले बनाएका नेतृत्वसम्बन्धी कतिपय मान्यता बीपीले आफू नेतृत्वमा पुगेपछि भत्काइदिएका समेत छन् । अर्थात् अर्काे व्यक्ति पदमा रहँदा उसलाई अप्ठेरोमा पार्न बीपी एउटा मापदण्ड अघि सार्थे, आफू प्रधानमन्त्री बनेपछि त्यही मान्यता कुल्चन्थे ।
बीपीको पदीय महत्वाकांक्षाका कारण उनकै जीवनकालमा नेपाली कांग्रेस पटक–पटक विभाजितसमेत भयो ।
विसं २००३ चैत्रमा जोगवनीमा भएको नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलनले बीपीलाई सभापति बनाएको थियो । तर, बीपी जेलमा रहेकाले डा. डिल्लीरमण रेग्मी अध्यक्ष तोकिए ।
त्यसअघि १२–१५ माघ (२००३) मा भएको सम्मेलनले पनि बीपीलाई नै सभापति मानेर ‘कार्यवाहक सभापति’ को जिम्मेवारी मातृकाप्रसाद कोइरालालाई सुम्पेको थियो ।
बनारसमा २०–२२ माघ २००४ भएको सम्मेलनबाट फेरि कार्यवाहक सभापति डा. रेग्मी चुनिए ।
डा. दोस्रो पटक कार्यलगत्तै २००५ मा बीपी जेलबाट रिहा भए ।
जेलबाट बीपी रिहा हुनासाथ बीपीले नेतृत्व दाबी गर्न थाले । बीपीको दाबीले गर्दा कांग्रेसमा पहिलोपटक नेतृत्वका विषयलाई लिएर विवाद सिर्जना भयो ।
नेतृत्वमा बीपीको दाबीपछि डा. रेग्मीले पनि आफू सम्मेलनबाट कार्यवाहक अध्यक्ष चुनिएको बताउँदै नेतृत्व नछाड्ने अडान लिए ।
यसरी नेपाली कांग्रेस कोइराला र डा. रेग्मी खेमामा विभाजित भयो ।
आखिर बीपी जेलमा हुँदा पनि राष्ट्रिय कांग्रेस चलेकै थियो । भारत–प्रवासमा रहेर डा. रेग्मीले पार्टी राम्रैसँग हाँकिरहेकै थिए ।
तर, जेलबाट छुट्नासाथ बीपी आफै सर्वेसर्वा हुन चाहे । आफू जेलमा रहेका बेला पार्टी हाँकेका डा. रेग्मीसँग ‘पावर सेयरिङ’ गर्न समेत चाहेनन् ।
निश्चय नै, बीपीमा कार्यकर्ता र जनतालाई कन्भिन्स गर्नसक्ने अद्वितीय क्षमता थियो । यस्तो क्षमताका अघिल्तिर डा. रेग्मी टिक्न सक्ने स्थिति थिएन ।
राणा शासनविरुद्ध संघर्षको तयारी गर्नुपर्ने बेला बीपीले जस्तो लचकता देखाउनुपर्थ्यो, त्यस्तो लचकता देखाउन सकेनन्, जसका कारण पार्टीले राणाकालमै विभाजन व्यहोर्नुपर्यो ।
विसं २००६ मा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता भई नेपाली कांग्रेस निर्माण भयो । एकतापछिको बैरगनिया सम्मेलनले मातृकाप्रसाद कोइरालालाई पार्टी सभापति र जनमुक्ति सेनाको सर्वाेच्च कमाण्डर बनायो । त्यही सम्मेलनले राणा शासनविरुद्ध सशस्त्र संघर्षको घोषणा पनि गर्यो ।
१०३ वर्षे राणा शासनको अन्त्यपछि राणा–कांग्रेस सम्मिलित सरकार निर्माण भयो । अन्तिम राणा शासक मोहन शमशेर अन्तरिम सरकारको प्रधानमन्त्री बने । गृहमन्त्रीका रुपमा कांग्रेस नेता बीपी कोइरालाले पार्टीको नेतृत्व गरे ।
मोहन शमशेर प्रधानमन्त्री र बीपी गृहमन्त्री रहेको यो (अन्तरिम) सरकारको मुख्य जिम्मेवारी राज्य सञ्चालन र शान्ति सुरक्षाका अलावा विधानसभाको निर्वाचन गराउनु थियो ।
मन्त्रीमण्डलमा नेपाली कांग्रेस र राणाहरु समान हैसियतमा थिए । एक पक्षले राजीनामा दिनासाथ मन्त्रीमण्डल भंग हुने व्यवस्था थियो ।
त्यो सरकारले समयमै संविधान सभाको निर्वाचन गरेको भए मुलुक उतिबेलै सबल प्रजातान्त्रिक कोर्शमा जाने थियो । राजनीतिक शक्ति नारायणहिटी (राजा) तर्फ जाने थिएन । नेपालले पटक–पटक प्रतिगामी ‘कू’ व्यहोरिरहनुपर्ने थिएन ।
तर, बीपीको ध्यान सबै पक्षसँग सहकार्य गरेर विधानसभा निर्वाचन सम्पन्न गर्नेतर्फ होइन, प्रधानमन्त्रीसँग झै–झगडामा बित्न थाल्यो । भरत शमशेर नेता रहेको गोर्खादलको खुकुरी काण्डको दोष मोहन शमशेरमाथि थोपर्दै गृहमन्त्री पदबाटै बीपीले राजीनामा दिए ।
बीपीको राजीनामासँगै मोहन शमशेरले पनि राजीनामा दिन बाध्य हुनुपर्यो । यसरी विधानसभाको निर्वाचनको जिम्मेवारी प्राप्त गरेको सरकार एक वर्ष पुग्दा नपुग्दै भंग भयो ।
त्यसपछि त नेपाल राजनीति अस्थिरताको दुश्चक्रमा पर्न थालिहाल्यो ।
राणा–कांग्रेस सरकार ढल्ने परिस्थिति सिर्जना गरेका बीपीले त्यसपछि सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने दाबी गर्न थाले ।
बीपीलाई लागेको हुँदो हो, कांग्रेसले सरकारको नेतृत्व प्राप्त गर्दा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर आफूलाई आउँछ ।
तर, राणा शासन विरुद्धको आन्दोलनका सर्वाेच्च कमाण्डर र कांग्रेस सभापति मातृका थिए । यसैआधारमा राजा त्रिभुवनले सरकारको नेतृत्वको मौका बीपीका दाजु मातृकालाई दिए ।
तर, मातृका प्रधानमन्त्री बनेकोसमेत बीपीलाई रुचेन । त्यसैले, पार्टीभित्र ‘एक व्यक्ति एक पद’ को मान्यता अघि सारे ।
अर्थात् प्रधानमन्त्री बनिरहने हो भने मातृकाले पार्टी सभापति छाड्नुपर्छ भन्ने माग गर्न थाले ।
मातृकाले बखेडा लम्ब्याउन चाहेनन्, सभापतिबाट राजीनामा दिए ।
त्यसपछि १–१२ जेठ २००९ मा कांग्रेसको जनकपुर महाधिवेशन भयो ।
मातृकाले महाधिवेशनमा बीपीलाई सभापतिमा समर्थन गर्ने र बीपीले पनि सरकारलाई समर्थन गर्ने आन्तरिक सहमति थियो ।
तर, यो आन्तरिक सहमति बीपीले पालना गरेनन्, जसका कारण दाजुभाइबीचको सहमति भंग भयो र जनकपुर महाधिवेशनमा दाजु–भाइबीच प्रतिस्पर्धा हुनपुग्यो ।
बीपी २९८ मतका साथ सभापतिमा निर्वाचित भए, मातृकाले ६८ मतमात्र प्राप्त गरे ।
सभापति निर्वाचित भएको केही समयपछि नै बीपीले मातृकालाई पार्टीबाट निष्कासित गरे । पार्टीबाट निष्कासन भएपछि मातृका प्रधानमन्त्री पदबाट समेत राजीनामा दिन बाध्य भए ।
त्यसपछि नयाँ मन्त्रीमण्डल गठन नहुञ्जेलका लागि ‘शाही परामर्शदात्री सरकार’ गठन भयो, जसको सर्वेसर्वा राजा त्रिभुवन थिए ।
बीपीको आफै प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण यसअघि राणा–कांग्रेसको संयुक्त सरकार पतन भएको थियो । यसपटक पनि बीपीकै कारण कांग्रेस नेतृत्वको सरकारको पतन हुन पुग्यो ।
यता पार्टीबाट निष्कासनमा परेपछि मातृकाले आफ्नो नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ गठन गरे । यही नयाँ दलको अध्यक्षका हैसियतमा राजा त्रिभुवनले मातृकालाई दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पे ।
बीपीको पदीय महत्वाकांक्षा र किचकिचे स्वभावका कारण कांग्रेसले प्रधानमन्त्री मात्र गुमाएन, दोस्रो पटक पार्टीको औपचारिक विभाजनसमेत भयो ।
बीपी सभापति हुँदा कांग्रेसबाट बाहिरिएका मातृका कांग्रेसको छैटौँ महाधिवेशन (२०१२ माघ, वीरगञ्ज) पछि मात्र मूलघरमा फर्केका थिए ।
वीरगञ्ज महाधिवेशनबाट सभापति निर्वाचित सुवर्ण शमशेरको विशेष प्रयासका कारण मातृकाले आफू नेतृत्वको राष्ट्रिय प्रजा पार्टीलाई कांग्रेसमा विलय गराएर आफू पनि नेपाली कांग्रेसमा फर्केका थिए ।
खासमा सुवर्ण शमशेर चार वर्षका लागि पार्टी सभापति निर्वाचित भएका थिए । तर, मातृका कांग्रेसमा फिर्ता भएको दुई वर्ष नपुग्दै कांग्रेसको विशेष महाधिवेशन (जनकपुर, ११–१२ जेठ २०१४) भयो ।
जनकपुरमा सम्पन्न यो पहिलो विशेष महाधिवेशनबाट बीपी सर्वसम्मत रुपमा पुनः कांग्रेस सभापति चुनिए ।
तर, बीपीले फेरि पनि दाजु मातृकाप्रति समुचित राजनीतिक व्यवहार गरेनन् । २०१५ को आमनिर्वाचनमा मातृकालाई टिकट नै दिएनन् ।
त्यो निर्वाचनपछि ‘विचरा’ मातृका राजा महेन्द्रको ‘कृपा’ बाट उपल्लो सदन ‘महासभा’ सदस्य बन्नुपर्यो ।
यहाँनिर के कुरा स्मरणीय छ भने, नेपाली कांग्रेसको सभापतिको हैसियतमा मातृका पहिलो पटक प्रधानमन्त्री (२००८–२००९) छँदा बीपीले पार्टीभित्र ‘एक व्यक्ति एक पद’ को मान्यता अघि सारेका थिए ।
यही ‘एक व्यक्ति एक पद’ को मान्यताका आधारमा बीपीले सुरुमा मातृकालाई सभापतिबाट हट्न बाध्य पारेर आफू सभापति बनेका थिए ।
आफू सभापति बनेपछि दाजु मातृकालाई पार्टीबाट हटाए र मातृका प्रधानमन्त्री पदबाट समेत हट्ने परिस्थिति सिर्जना गरे ।
तर २०१५ को निर्वाचनपछि प्रधानमन्त्री बनेका बीपीले ‘एक व्यक्ति एक पद’ को मान्यता लागू गर्न आवस्यक ठानेनन् ।
त्यही कारण राजा महेन्द्रले १ पुष २०१७ मा ‘कू’ गरी बीपीलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्दा दाजु मातृका चुप रहे ।
१ पुष २०१७ को ‘कू’ पछि १२ माघ (२०१७) मा भएको कांग्रेसको पटना सम्मेलनले सुवर्णलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको थियो ।
तर, सुवर्णको पहलमा विसं २०२५ मा जेलबाट छुटेपछि बीपीले सुवर्णप्रति यथोचित व्यवहार गरेनन् । आफूलाई छुटाउन कार्यवाहक सभापति सुवर्णले गरेको योगदान बिर्सेर बनारसबाट बीपीले पार्टीको समानान्तर गतिविधि सुरु गरे । सुवर्णको सम्मतिविना आफ्नै नेतृत्वमा सशस्त्र संघर्षको घोषणा र सञ्चालन गरे ।
२०१७ देखि २०३३ को १६ वर्षको अवधिमा सुवर्णले राजा र दरबारिया प्रवृति राम्रोसँग बुझेका थिए । त्यसैले, बीपीको ‘राष्ट्रिय मेलमिलापको नीति’ प्रति सुवर्ण सहमत थिएनन् । राजासँग घाँटी जोड्दैमा बीपीका लागि राजाले प्रजातन्त्र दिन्छन् भन्ने विश्वास सुवर्णलाई थिएन ।
आखिर भयो पनि त्यस्तै! प्रजातन्त्रको सट्टा बीपीमाथि मृत्युदण्डको माग गर्दै अदालतमा मुद्दा पो दायर गरियो!
बीपी नेतृत्वको ‘सशस्त्र संघर्ष’ ले बीपी–सुवर्णबीच फाटो ल्याएकै थियो, राष्ट्रिय मेलमिलापको नीतिले त्यो फाटोलाई थप फराकिलो पार्यो ।
फलस्वरुप कलकत्तामा बसेको सुवर्ण नेतृत्वको कार्यसमितिले बीपी र गणेशमानलाई कांग्रेसबाट निष्कासन गर्यो ।
लगत्तै बनारसबाट बीपीले पनि सुवर्णलाई निष्कासन गरेर जवाफ फर्काए ।
सुवर्णसँग बीपीको ‘मिलन’ सुवर्णले जीवनको अन्तिम स्वास लिनु अघिल्लो दिन ५ कार्तिक (२०३५) मा कलकत्तामा भयो । यो भेटको भोलिपल्टै सुवर्णको निधन भएको थियो ।
यतिन्जेलसम्म कांग्रेसको आधिकारिक नेतृत्व सुवर्ण शमशेरकै काँधमा थियो । मृत्युभन्दा अघिल्लो दिनको त्यो भेटमा सुवर्णले पार्टीको नेतृत्व बीपीलाई सुम्पेका थिए ।
बदलामा बीपीले सुवर्णलाई के दिए होलान्?
अपमान!
जस्तो कि, मृत्यु शय्यामा रहेका सुवर्णसँगको भेट सकेपछि बीपीले सार्वजनिक रुपमा भनेका थिए ‘मप्रति गरेको व्यवहार र गल्तीप्रति सुवर्णले प्रायश्चित गर्दै क्षमा माग्नुभएको छ ।’
सुवर्णको निधनपछि २५ कार्तिक २०३५ मा पटनामा कांग्रेसको सम्मेलन भयो । त्यो सम्मेलनबाट बीपी पुनः सभापति निर्वाचित भए ।
सभापति बनेपछि बीपीले ‘कार्यवाहक सभापति’ को जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पे । भट्टराई कार्यवाहक सभापति भएपनि मृत्यु हुने बेलासम्म सभापति भने बीपी नै थिए ।
त्यसैले, सभापतिका रुपमा गगनले नयाँ आदर्श स्थापना गर्न चाहन्छन् भने, यस सन्दर्भमा गगनले बीपीलाई आदर्श बनाउनु हुँदैन ।
गणेशमान र गगन
बीपीको भूमिकामाथिको यो लामो मन्थनपछि अब गणेशमान सिंहतर्फ फर्काैं ।
बीपीजस्ता तीक्ष्ण बुद्धि र राजनीतिक विचारक थिएनन् – गणेशमान । न त बीपीको जस्तो साहित्य/रचनामार्फत् समाजमा गहिरो छाप छाड्नसक्ने क्षमता नै उनमा थियो ।
तर, गणेशमान प्रजातन्त्रका लागि जस्तोसुकै दु:ख पनि भोग्नसक्ने खुबिका थिए । प्रजातन्त्रप्रति उनमा उच्च प्रतिबद्दता थियो र पदीय निर्लाेभताका पनि उनी शिखर व्यक्तित्व थिए ।
यिनै तीन विशेषता नै गणेशमानको सबैभन्दा ठूलो पूँजी हो ।
‘आफूभन्दा बीपी विशेष हुन्’ भन्ने बुझेरै गणेशमानले बीपीलाई नेता स्वीकार गरेका थिए । गणेशमानले एकपटक कांग्रेसको सभापति बन्ने आकांक्षा त देखाए, तर बीपीले प्रतिस्पर्धा नगर्ने भएपछि मात्र!
वीरगञ्जमा २०१२ माघमा सम्पन्न नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा गणेशमानले सभापतिमा सुवर्ण शमशेरसँग प्रतिस्पर्धा गरेका थिए ।
विजयी सुवर्णले २३६ मत प्राप्त गर्दा गणेशमानले १७२ मतमात्र सुरक्षित गर्न सके ।
त्यसअघि र पछि उनले सदैव बीपीलाई साथ दिए । जेलमा होस् वा भारत प्रवासमा – गणेशमान सदैव बीपीको साथमा रहे ।
चाहेका भए २०३५ पछि कृष्णप्रसाद भट्टराईको सट्टा गणेशमानले नै बीपीबाट कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्न सक्थे । तर, उनले पदको लोभ गरेनन् ।
२०४६ को आन्दोलनको ‘सर्वाेच्च कमाण्डर’ को हैसियतमा आन्दोलनको सफलतापछि राजा वीरेन्द्रले गणेशमानलाई नै प्रधानमन्त्री पद अफर गरेका हुन् ।
संयुक्त आन्दोलनको अर्काे घटक संयुक्त वाममोर्चा पनि गणेशमान नै प्रधानमन्त्री होऊन् भन्ने चाहन्थ्यो ।
तर, निर्लाेभी गणेशमानले उदारता देखाए । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदको ‘अफर’ अस्वीकार गरे । यो जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए ।
यहीँनेर गणेशमान बीपीभन्दा उच्च नैतिकवान र निर्लाेभी देखिए ।
सुवर्ण कलकत्तामा मृत्यु शय्यामा रहेका बेला अमेरिकाबाट फर्केका बीपी उनलाई भेट्न कलकत्ता पुगेका थिए र ‘कार्यवाहक सभापति’ को जिम्मेवारी ग्रहण गरेका थिए । जबकि उनी आफै पनि क्यान्सरका बिरामी थिए र अमेरिकाबाट उपचार गरी भर्खर भारत फर्केका थिए ।
एउटा बिरामी (बीपी) ले अर्काे बिरामी (सुवर्ण) बाट सभापतिको जिम्मेवारी ग्रहण गर्नु आफैमा अनौठो घटना थियो ।
त्यसैले, समग्र व्यक्तित्वका दृष्टिले बीपी उचो देखिएलान् । तर, ‘अवसरको त्याग’ र ‘निर्लाेभिता’ का दृष्टिले बीपी गणेशमानको दाँजोमा आउन्नन् ।
त्यसैले, दोस्रो पटक पार्टी नेतृत्व सम्हाल्दै गर्दा गगनले सभापति पद र यो जिम्मेवारीलाई ओजनदार बनाउने हो भने गणेशमानलाई ‘आदर्श पात्र’ बनाउनु पर्छ, बीपीलाई होइन ।
यो भन्न खोजिएको होइन कि, (गणेशमानले जस्तै) गगनले सभापति बन्ने आकांक्षा विशेष महाधिवेशन र यसपटक नियमित महाधिवेशनमा राख्नु हुँदैनथ्यो ।
खासमा गगनको नेतृत्व विशेष अधिवेशन र नियमित अधिवेशन दुवैमा कांग्रेसका लागि अपरिहार्य थियो । किनकी, धेरै पहिलेदेखि गगनले कांग्रेस बदल्ने अभियान सञ्चालन गरेका थिए, जेन जी आन्दोलनपछि त्यसलाई त्यसलाई तीव्र बनाए ।
तर, सभापति बनेपछिका आगामी पाँच वर्ष गगनले बीपी कोइराला होइन, गणेशमान सिंहको आदर्श पछ्याउनु जरुरी छ । आगामी (१६औं) महाधिवेशनमा फेरि सभापतिको प्रत्यासी होइन, अविभावकीय नेतृत्वमा देखिनु जरुरी छ ।
बीपीजस्तो बाँचुञ्जेल नेतृत्वमा बसिरहने लोभ गगनले गर्नु हुँदैन ।
हो, बीपी कोइरालाजस्तै गगन पनि विशाल कार्यकर्ता पंक्तिलाई एकैपटक ‘कन्भिन्स’ गर्ने र सम्मोहन सिर्जना गर्ने क्षमता राख्न सक्छन् । यसै आधारमा आगामी महाधिवेशनमा पनि गगनको पक्षमा ‘वान्स मोर’ को नारा लाग्न पनि सक्छ ।
त्यो ‘वान्स मोर’ लाई मान्यता प्रदान गरे भने कांग्रेसलाई मात्रै होइन, गगनको कदमले उनको व्यक्तित्वलाई समेत क्षति पुर्याउनेछ । उनकै समकालिक, झण्डै उनीजत्तिकै क्षमतावान उनका सहयोगी नेताहरुको पंक्तिमाथि अन्याय हुनेछ । कांग्रेस ती नेताहरुको नेतृत्व पाउने अवसरबाट वञ्चित हुनेछ । र, बीपीका पालामा झैँ कांग्रेसले फेरि विभाजनको नियति भोग्नुपर्नेछ ।
गत निर्वाचनपछि गगनले एउटा ‘पारिस्थितिकीय लाभ’ प्राप्त गरेका छन् । राजनीतिमा अलिक अस्वाभाविक मानिने गगनको त्यो कदमप्रति कसैले प्रश्नपनि गरेका छैनन् ।
२१ फागुन (२०८२) मा भएको आम निर्वाचनमा पराजयपछि गगनले नैतिक जिम्मेवारी लिदै सभापतिबाट राजीनामा दिएका थिए ।
तर, पार्टीबाट नेतृत्व छाड्न दबाब आयो भन्दै उनले सभापतिको जिम्मेवारीलाई निरन्तरता दिए ।
राजीनामा दिइसकेको सभापति पदमा फेरि तत्काल फर्कनु आफैमा अस्वाभाविक घटना थियो । तर, असामान्य स्थितिबाट गुज्रिरहेको कांग्रेस र मुलुकको राजनीतिका कारण त्यसलाई स्वाभाविकै मानियो । यसप्रति मानिसहरुले प्रश्न उठाएनन् ।
तर, गगनमा पनि (बीपीमा जस्तै) पद मात्रै प्राप्त गर्ने र पद प्राप्त गरिसकेपछि हतपति नछाड्ने रोग देखिन थाल्यो भने, त्यो घटना .(राजीनामा दिइसकेको सभापतिको कुर्सीमा फेरि फर्केको) घटना मानिसहरुले उधिन्न थाल्नेछन्, उनको ‘राजनीतिक नैतिकता’ प्रति प्रश्न उठ्न थाल्नेछ ।
राजनीतिमा यतिबेला आदर्श र नैतिकता कमजोर भए पनि यसको महत्व भने बढ्दै गएको छ ।
नवनिर्वाचित सभापति गगनले गणेशमान सिंहलाई आदर्श मान्न सके भने नेपाली राजनीतिमा कमजोर बन्दै गएको आदर्श र नैतिकता पुनर्जीवित हुनेछ । गगनको नाम राजनीतिमा नैतिकता जीवित राख्ने पात्रमा रुपमा इतिहासमा लेखिनेछ ।





