महोत्तरी – महोत्तरीको औरही नगरपालिका–७,भोइलस्थित प्रसिद्ध सोनामाई मन्दिरमा बडादसैँको महानवमीका दिन १ सय १३ वटा राँगाको बलि दिइएको छ।
दसैँको अवसरमा विशेष धार्मिक अनुष्ठान हुने यस मन्दिरमा दर्शन तथा पूजाआजाका लागि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो।




मन्दिर परिसरमा रहेको राजदेवीको खुट्टाअगाडि परम्पराअनुसार राँगाको बलि दिइएको हो। मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनले सोनामाई माताको पूजाआजा गरी बोका बलि चढाउने परम्परासमेत रहिआएको छ।सोनामाई मेला समितिका अध्यक्ष विकेश यादवका अनुसार घटस्थापनादेखि महानवमीसम्म मन्दिरमा ८ सय वटा बोका बलि चढाइएको छ। दशमीका दिन पनि बोका बलि दिने परम्परा जारी रहने उहाँले बताउनुभयो।

यो परम्परा कहिलेदेखि सुरु भएको हो भन्ने यकिन नभए पनि वर्षौँदेखि निरन्तर चल्दै आएको स्थानीय जानकारहरू बताउँछन्। दसैँका अवसरमा सोनामाई मन्दिरमा विशेष पूजा तथा बलि प्रदान गर्ने परम्पराले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ।
औरही नगरपालिकासहित आसपासका ५० देखि ६० गाउँका श्रद्धालु भक्तजन सोनामाई मन्दिरमा पूजा तथा दर्शनका लागि आउने गरेका छन्। महानवमीका दिन मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।
औरही नगरपालिका–७ का वडाध्यक्ष जितेन्द्र यादवका अनुसार सोनामाई मन्दिरमा लागेको मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।





