अर्जुन कुमार साह,जनकपुरधाम – बालविवाह अन्त्य गर्ने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सामुदायिक सचेतना तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मुस्लिम महिला कल्याण समाज (एनएमडब्लूडब्ल्यूएस) को आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न सरकारी निकायका प्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिसहित ४७ जनाको सहभागिता रहेको थियो।



Equality Now को सहयोग तथा ESCRNN को समन्वयमा नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्यप्रताप यादव तथा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशकी अधिकृत कुमारी शर्मालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा देवका केसीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। लेखक तथा अनुसन्धानकर्ता रीता साहले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहजीकर्ता साहले मधेश प्रदेशमा बालविवाहको अवस्था, यसबाट उत्पन्न समस्या तथा चुनौती, कानुनी जटिलता र बालविवाह अन्त्यका लागि सरोकारवाला निकायको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बालविवाह अन्त्यका लागि विद्यमान कानुनी संरचनामा आवश्यक सुधार, बालविवाहका असर तथा प्रभाव र मधेश प्रदेशमा बालविवाह कायम रहनुका कारणबारे समूहगत छलफल तथा अभ्याससमेत गराइएको थियो। करिब तीन घण्टासम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले बालविवाह रोकथामका उपाय र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, धनुषाका अध्यक्ष पुरण गुप्ताले पछिल्लो समय किशोरकिशोरीहरू आपसी सहमतिमा घरबाट भागेर विवाह गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो। यस्तो प्रवृत्तिले किशोरकिशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै उहाँले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्थाको कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने अभियान आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशकी अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको रोकथाममा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। बालविवाह अन्त्यका लागि सरकारी निकाय, नागरिक समाज र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्यप्रताप यादवले आफ्नो वडामा बालविवाह रोकथामका लागि जिम्मेवारीपूर्वक काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले आफ्नो कार्यकालमा हालसम्म सातवटा बालविवाह हुनबाट रोकिएको बताउँदै आगामी दिनमा पनि वडा तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बालविवाह अन्त्यका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख किशोरी साहले बालविवाह अन्त्यका लागि सर्वप्रथम सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो। स्थानीय तहबाट समुदायस्तरमा सडक नाटक तथा अन्य सचेतनामूलक माध्यममार्फत बालविवाहविरुद्ध अभियान सञ्चालन हुँदै आएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रमकी अध्यक्ष सीमा खानले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको बताउनुभयो। बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायका सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले यस अभियानमा सबैको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको समापनपछि बालविवाहविरुद्ध जनचेतनामूलक र्याली निकालिएको थियो। साथै नुक्कड नाटकमार्फत बालविवाहका कारण उत्पन्न हुने जोखिम तथा यसले किशोरकिशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने नकारात्मक प्रभावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको थियो।

बालविवाह सामाजिक कुरीतिका रूपमा अझै कायम रहेकाले यसको अन्त्यका लागि कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनसँगै समुदायस्तरमा निरन्तर सचेतना आवश्यक देखिएको छ। समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायबीच साझा बुझाइ, सहकार्य र प्रतिबद्धता विकास गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।








