महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपाल औरही नगर समितिको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरीको औरही नगरपालिका–७ स्थित ऐतिहासिक सोनामाई मन्दिर परिसरमा नगर समितिका अध्यक्ष दरेश यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपमहासचिव एवं मधेश प्रदेश सभा सदस्य जयनूल राईनको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।



आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीका नेता, जनप्रतिनिधि, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईनले जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल एकीकृत भएर अघि बढेको उल्लेख गर्दै पार्टीलाई थप सशक्त बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पङ्क्तिलाई अहिलेदेखि नै सक्रिय हुन आग्रह गर्नुभयो । मधेशले प्राप्त गर्न बाँकी अधिकार आन्दोलन र सङ्घर्षबाट हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मधेशको अधिकार र पहिचानको मुद्दामा पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै मधेश प्रदेश सभा सदस्य एवं जसपा नेपालकी केन्द्रीय सदस्य समिता प्रधानले पार्टी संगठनलाई बलियो बनाउन महिला, युवा तथा सीमान्तकृत समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । जनताको सुखदुःखमा साथ दिँदै उत्पीडित वर्गको हकहित र अधिकारका लागि जसपा नेपाल सधैँ अग्रपङ्क्तिमा रहने उहाँको भनाइ थियो ।
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा (ज्ञानु)ले सङ्घीयता मधेशी दलहरूको लामो आन्दोलन, सङ्घर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्नुभयो । प्राप्त राजनीतिक उपलब्धि र अधिकारलाई कमजोर बनाउने तथा सङ्घीयता समाप्त पार्ने प्रयासविरुद्ध जसपा नेपालले सशक्त रूपमा आवाज उठाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले नगर क्षेत्रको समग्र विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको बताउनुभयो । नगरवासीको समृद्धिको चाहना पूरा गर्न तथा विकास निर्माणका कामलाई तीव्रता दिन नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष एवं जसपा नेपाल औरही नगर समितिका अध्यक्ष दरेश यादवले जनताको विश्वास, साथ र सहभागिता नै पार्टीको प्रमुख शक्ति भएको बताउनुभयो । औरहीमा जसपा नेपाल जनताको सुखदुःखको साथीका रूपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा संगठनलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टी संगठनलाई वडा तथा टोलस्तरसम्म विस्तार र सुदृढीकरण गर्न नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवं पार्टीकी केन्द्रीय सदस्य रुपा यादवले पनि पार्टी एकता, सहकार्य र संगठन सुदृढीकरणमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू इसरागन कुमारी यादव र रामपरी राम, औरही नगरपालिकाकी उपप्रमुख रेणु झा, मधेश प्रदेश कार्यकारिणी सदस्य सरयुग यादव, प्रदेश समिति सदस्य रामनारायण यादव, जिल्ला कार्यसमिति सदस्य रामदिनेश यादव र महेन्द्र यादवको उपस्थिति थियो ।

त्यसैगरी, वडा नं. १ का कार्यवाहक वडाध्यक्ष सुशील साह, वडा नं. २ का वडाध्यक्ष दरेश यादव, वडा नं. ३ का वडाध्यक्ष रामकेवल यादव, वडा नं. ६ का वडाध्यक्ष सुशील चौधरी, वडा नं. ८ का पूर्ववडाध्यक्ष एवं वडा संयोजक नवलकिशोर चौधरी, कार्यपालिका सदस्य विलास मुखरिया तथा वडा संयोजकहरू अम्बिका प्रसाद यादव, नथुनी ठाकुर र रामसेवक महरालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले विजया दशमी, दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै देशवासी, मधेशवासी तथा औरही नगरवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आयोजक नगर समितिले कार्यक्रममा उपस्थित अतिथि, जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेको जनाएको छ ।



















