हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व मनाउन व्यस्त रहँदा जनकपुरधाममा भने भगवान हनुमानको जन्मोत्सवका रूपमा हनुमान जयन्ती मनाइएको छ ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायतका धार्मिक कार्यक्रम आयोजना गरेको छ ।



यसअघि परिषद्को आयोजनामा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकालिएको थियो । नगरका विभिन्न भागको परिक्रमा गर्दै निकालिएको शोभायात्रामा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवसमेत सहभागी भएका थिए ।
शोभायात्रामा सहभागी सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीहरूको घरघरमा पूजाआजा गरिने आराध्य देवता रहेको उल्लेख गर्दै उनको जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राले सनातन संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चककै बीचमा हनुमान जयन्ती पर्ने भएकाले यो पर्व अपेक्षाकृत ओझेलमा पर्ने गरेको बताए ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको हनुमान जयन्तीलाई भव्यताका साथ मनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । उनका अनुसार परिषद्ले विगत २० वर्षदेखि निरन्तर हनुमान जयन्तीका अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
यसैबीच, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो । भक्तजनहरूले भगवान् हनुमानको पूजाअर्चना गर्दै हनुमान चालिसा तथा विभिन्न मन्त्र र स्तोत्र पाठ गरेका थिए ।
धार्मिक मान्यताअनुसार हनुमानको आराधना गर्नाले शुभ फल प्राप्त हुने, शनिग्रहको प्रतिकूल प्रभावबाट मुक्ति मिल्ने तथा भूतप्रेत र पिशाचको भयबाट जोगिने विश्वास गरिन्छ । त्यस्तै, हनुमानको पूजा गर्नाले दाम्पत्य जीवन सुखमय हुने र पति–पत्नीबीचको मनमुटाव तथा कलह हट्ने जनविश्वाससमेत रहिआएको छ ।
हनुमान जयन्ती मनाउने तिथिबारे धार्मिक ग्रन्थहरूमा विभिन्न मत पाइन्छन् । चैत्र शुक्ल पूर्णिमाका दिन पनि हनुमान जन्मोत्सव मनाउने परम्परा रहे पनि कार्तिक कृष्ण चतुर्दशीलाई समेत हनुमान जयन्तीका रूपमा लिने गरिएको छ ।
वायु पुराणलगायतका ग्रन्थमा कार्तिक महिनाको चतुर्दशीसँग जोडिएको हनुमान जयन्तीलाई विजय अभिनन्दन महोत्सवका रूपमा व्याख्या गरिएको धार्मिक मान्यता रहेको छ ।




