जनकपुरधाम : कुर्था-जनकपुर-जयनगर रेल्वेको यही चैत १९ गते औपचारिक उद्घाटन गरिने भएको छ। भारत भ्रमणमा गएका वेला प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीबाट भर्चुअल रुपमा संयुक्त उद्घाटन गर्ने भएका छन्।
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाटै संयुक्त भर्चुअल रुपमा रेलको उद्घाटन गर्ने तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। उनका अनुसार चैत १९ गते उद्घाटन गर्ने तय भएको र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअली उद्घाटन गर्नेछन्।



उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टरसहित कार्यक्रम गरिने भएको छ। जनकपुर रेल्वे स्टेशनमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग तथा पर्यटनमन्त्री सत्रुधन महतोलगायत सहभागी हुने महाप्रबन्धक झाले जानकारी दिए।

भारतबाट डिसिएम नमगिया खम्पासहितको टोली जनकपुरधाम रेल्वे स्टेशन आउनेछ। उद्घाटनलगत्तै जयनगरबाट जनकपुरका लागि रेल गुड्नेछ। यो रेल प्रत्येक स्टेशनमा रोकिने महाप्रबन्धक झाले बताए। त्यस दिन यात्रुले निःशुल्क चढ्न पाउने र जनकपुर रेल्वे स्टेशनबाट चढेर मन्त्री यादवसहितको टोली कुर्था स्टेशन पुग्नेछन्।
फर्किने बेला फेरि जनकपुर स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केही बेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने महाप्रबन्धक झाले जानकारी दिए। त्यसपछि भने जनकपुर-जयनगर रेल नियमित सञ्चालन हुनेछ।
रेलले जनकपुरको व्यवसाय तथा पर्यटन प्रवर्द्धन विकासमा टेवा दिने विश्वास लिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए। रेल चल्ने निश्चित नभएपछि चैत २ देखि एक दिन बिराएर यात्रुबिनै कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।

रेल्वे अध्यादेश निष्क्रिय भए पनि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।प्राविधिक रूपमा सबै तयारी भइसकेको र कर्मचारी पनि नियुक्त भएर काममा खटिइसकेका छन्।
०७७ असोज २ गते भारतीय कोंकण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट इन्जिनसहित १० वटा बोगी खरिद गरिएको थियो। रेलले करिब १ हजार ३ सय देखि १ हजार ५ सय जनासम्म यात्रु बोक्न सक्छ।
कुर्था–जयनगरको यात्रा गर्दा यातायात व्यवस्था कार्यालयले नै निर्धारण गरेअनुसार सामान्य सिटमा प्रति यात्रु ९० रूपैयाँ र एसी सिटमा ४ सय ५० रूपैयाँ भाडा तोकिएको छ। रेल सञ्चालनमा ५९ जना नेपाली र २६ जना भारतीय कर्मचारी संलग्न रहनेछन्। – थाहा खबर




