काठमाडौंं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।



म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।
म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।
म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५४८ जना पूर्व सैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् । पूर्व प्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजारभन्दा बढीले यस पटक पनि भर्नाका लागि आवेदन दिएका थिए । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता केसीले बताए ।
मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको सङ्ख्या




