काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज पनि निर्वाचन आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्दै छ। विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो सङ्ख्यामा उम्मेदवारी परेको हो।
सोही उम्मेदवारीमाथि आयोगले अस्ति उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। आइतबार र सोमबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो। आज बिहीबार साँझ ६ बजे मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।



त्यस्तै, आयोगको तालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।
शुक्रबार साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ। पालिका प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ।
यसै गरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।
उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ।




