औरही – दोस्रो पटक महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा निर्वाचित संजीब साहले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क बनाउने घोषणा गरेका छन् ।माध्यमिक तह १० कक्षा सम्मको शिक्षा निशुल्क रहेकोमा अब सामुदायिक विद्यालयहरुमा ११ र १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाईने प्रतिबद्धता जनाएका छन् ।
उनले नीजिी विद्यालयबाट नेपाल सरकारको कानून बमोजिम गरिव दलित तथा जेहेन्दार १०% विद्यार्थीहरुलाई प्राप्त हुने निशुल्क पठनपाठनको व्यवस्था नगरपालिका समेतको समन्वय र सिफारिसमा गराईने घोषणा गरेका छन् ।



नागरिकहरुको गुणस्तरिय स्वास्थ्य सेवामा पहुच अभिवृद्धि गर्नका लागि १० शैय्याको आधारभूत अस्पताल संघीय सरकार संगको समन्वय र नगरपालिकाको पहलमा स्थापना गरिने उनले बताएका छन् ।
भंगहा नगर कार्यपालिकाको प्रशासकीय भवन संघीय सरकार समेतको साझेदारी र सहयोगमा निर्माण गरिने, सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरुलाई नागरिक मैत्री सेवा प्रवाह अनुकुलन हुने गरी व्यवस्थापन गरिने, सिंचाई सुविधा नपुगेका खेती योग्य जमिनहरुमा बैकल्पिक विधि अपनाई १२ महिना सिंचित हुने व्यवस्था मिलाईने उनले प्रतिबद्धता जनाएका छन् ।




