नेपालगन्ज- बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन भन्दै बोलाएका थिए।
जन्मदिन भनेपछि भेट्न आएकी किशोरीलाई हेमराजलगायत सात जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।



किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। जेठ २१ गते राती र २२ गते बिहान उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ।
मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ। प्रहरीले अभियुक्त हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
२२ गते साँझ ४ बजे किशोरीलाई घर पुर्याउन जाँदा एउटै मोटरसाइकलमा तीन जना सवार थिए। प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गरेको थियो।
प्रहरीले किशोरीलाई सोधपुछ गरेपछि घटना बाहिर आएको हो। त्यसपछि प्रहरीले किशोरीको बयानका आधारमा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।




