काठमाडौं । थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार भेटिएको हो ।उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।



प्रारम्भिक जाँचबुझमा उनी आफैं छतमा चढेर फाल हानेको जस्तो देखिने एसपी मैनालीले बताए । ‘कुकुरले पनि उनी हिँडेर माथि गएको हुनसक्ने संकेत गरेको छ,’ मैनालीले भने । प्रहरीले घटनास्थलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञ डा। गोपाल चौधरीलाई पनि लगेको थियो ।उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।
हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोटबाहेक अन्य संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् ।स्रोतका अनुसार जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट निस्किएका थिए ।
सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेका उनले पछि आर्किटेक्चर पढ्न थालेका थिए । उनी पढाइमा अब्बल मानिन्थे ।




