जनकपुरधाम- किसानहरूले पाँच बुँदाको माग अघि सार्दै मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज देखि धर्नामा बसेका छन् ।
किसानहरूले धर्ना बस्नु अघि लेखा तथा खाद्य सुरक्षा महाशाखामा तालाबन्दी समेत गरेका छन् ।
किसानहरूले अदालतको आदेश अनुसार शितभण्डार निर्माणको रकम भुक्तानी हुनु पर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ विजन उपलब्ध गराउनु पर्ने, मन्त्रालयको अनुदान सेवामा , सुविधा र विभिन्न योजनाहरू एकरूपता गरी किसानहरूको हक हित सुनिश्चितता हुनु पर्ने, शितभण्डारको बाँकी काम गर्नका लागि आदेश हुनु पर्ने र प्राकृतिक तथा विभिन्न कारणले विभिन्न बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति हुनु पर्ने माग सहित धर्नामा बसेका छन् ।
सत्ता रुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाइमा धनुषा र सर्लाही जिल्लाका किसानहरू धर्नामा बसेका हुन्। आफूहरूले राखेको माग पुरा नभए कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पनि धर्नामा बस्नु भएका अगुवा किसानहरूले बताएका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नभएपछि ठूलो समस्यामा परेको सो संस्थाका अध्यक्ष ललित नारायण यादवले जानकारी दिए ।
यस्तै प्रकृतिको चिस्यान घरको निर्माण कार्य सप्तरी जिल्लामा हुँदा १ करोड भुक्तानी भइसकेको पनि यादवले जानकारी दिए ।
त्यस्तै सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भएपनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि किसानहरू समस्यामा परेको संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद महतोले जानकारी दिए ।
यसै बीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको सबै प्रक्रिया पुरा गरेर भुक्तानी दिने बताए ।
अहिले जनता समाजवादी पार्टी नेपालका नेता विजय कुमार यादवको नेतृत्वमा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेको छ ।


