काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले बहु प्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ ।
बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनु भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।



विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समय सीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।
विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समय सीमा तोक्ने बारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
यस्ता छन् प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकका प्रावधान
नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ । प्रतिनिधि सभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ ।
नागरिकता विधेयकका विशेषता
-२०७२ साल असोज ३ गतेअघि (नेपालको संविधान जारी हुनुपूर्व) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
-नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुवाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने भनेको छ ।
-नेपालभित्र फैला परेका तर आमा र बुवा दुवैको ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमाको पता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।
-विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
-वंशजको आधारमा नागरिकता लिएका व्यक्तिको बुवा विदेशी नागरिक भएको पुष्टि भएमा त्यस्ता व्यक्तिको वंशजको नागरिकता फिर्ता लिइनेछ । त्यसपछि ती व्यक्तिलाई अंगीकृत नागरिकता दिइने छ ।
-बुवा विदेशी नागरिक तर बुवाको देशबाट नागरिकता नलिएको खण्डमा भने आमाको नामबाट अंगीकृत नागरिकता लिन सकिनेछ ।
-गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ । तर उनीहरूलाई राजनीतिक र प्रशासनिक अधिकार भने प्राप्त हुनेछैन।
-नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।
झुटो विवरण दिई नागरिकता लिए ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना
नयाँ नागरिकता विधेयकमा झुटा विवरण दिई नागरिकता लिनेलाई ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रावधान राखिएको छ । नयाँ विधेयकमा राखिएका दण्ड सजाय यस्ता छन् :
-आमा नेपाली नागरिक र बाबु विदेशी नागरिक भएको अवस्थामा बाबुको देशबाट नागरिकता लिएर पनि नेपालको नागरिकता लिने व्यक्तिलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरेको ठहर भई सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
-त्यस्तै कसैले झुट्टा विवरण दिई गैरआवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । झुट्टो वितरण दिई गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ ।
-त्यस्तै कसैले दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
दफा ८ को उपदफा (१) को खण्ड (क) मा यस्तो प्रावधान राखिएको छ : नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिएबमोजमिको स्वघोषणा, तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ ।




