मिश्रा देवी कार्की
माओवादी युद्धमा सरकारी आदेशमा काम गर्ने धेरै क्षत्रका ब्यक्तिहरु सहीद भए। यस बाहेक माओवादीहरुले पनि आफ्ना कार्यकर्तालाई मात्र सहीद घोषणा गरे भने अरु राजनैतीक दलहरुले पनि हाताहात भएका आफ्ना कार्यकर्ता हरुलाई मात्र सहीद घोषणा गराए। माओवादी लगाएत राजनैतीक दलका सहीद हरुका लागि सबै दल हरुले कल्याण भावले हेरे, किन की उनी हरु स्थानीय तह देखि केन्द्रीय तह सम्म सरकारमा पुगे तर हाम्रा पतिहरू जस्ता जागिरे सहीद हरुको पक्षमा बोलीदिने कोही भएनन् किन भने कर्मचारीका नेतृत्वमा आफ्नै व्यक्तिगत वृत्त विकास र जागिरको सुरक्षाले मात्र महत्व पाएको देखीयो ।वहाँहरूको सहीद कर्मचारी हरुको हकहित जस्ता विषयहरू त प्राथमिकतामा नै देखिएनन् जस्का कारण हामीहरू आफैं सडक संघर्ष गर्न बाध्य भएर सडकमा व्यस्त भयौं।
हामी सडकमा पाँच कामका लागि जानु पर्यो र परी रहेको छ । पहीलो :- बच्चाको छात्रवृत्ति उपलब्ध गराउन र पेन्सनको लागी लड्नु पर्यो । नत्र आधा पेन्सन मात्र पाउने ब्यबस्था गरीयो जस्ले घरको गुजारानै हुन्थेन।
देश्रो :- एक तह बढुवा दिनको लागि लडियो नत्र त्यो बढुवा नै हुन्थेन।
तेश्रो :- दुर्घटना विमा, सन्ततिवृदी र उपदानका लागि लडियो नत्र त्यो नै पाइन्थेन। संगठनको सोच पनि थिएन।
चौथौ :- सहीद घोषणा गराउनकका लागि लडाई लडियो। यदि त्यो माघलाई सरकारले न सुनी दिएको भए आज सहीद परिवार सम्म पनि भन्न पाइन्थेन।
पाँचौं:- आज सरकारले तयार पारेको ऐन र संशोधन विधेयकबाट गरिएको जुन विभेद छ त्यसलाई परिमार्जन र सुधार गरी समेटेर उच्च सम्मानका लागि न्याय दिनु पर्छ भन्दै सरकारलाई ध्यानाकर्षण गराउनका लागि लडी रहेका छौँ र यदि यो लडाइँ सफल भएन भने देशमा द्वन्द व्यवस्थापन हुन सक्दैन। कतै न कतै द्वन्द्वको तुष रहने छ ।त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना हुने छ।
हामी शहीद परिवारहरुलाई सम्मान मात्र होइन जिबीकोपार्जन गर्नका लागि आय श्रोताको पनि आवश्यक छ किन की कमाई गर्ने अभिभावक देशका लागि समर्पित भै जानु भयो। केबल सहीदको प्रमाणपत्रले दिएको गौरबले मात्र बॉचेका परिवारको जीवन चल्दैन। जीवन संगै घर ब्यबहारहरु पनि चलाउनु पर्दछ, जुन व्यवहारमा खान लाउन बाहेक बाल बच्चाहरूको शिक्षा दीक्षा,स्वास्थ लगायतका विभिन्न चाड पर्वहरू मनाउन पर्ने पनि हुँदा पलपल कठिन पर्दछ ।
हामीले पतिको सम्मान राख्न र आफ्ना घर व्यवहार चलाउन संघर्ष गरी रह्यौँ तर यदि भारतमा झैं सहीद परिवारबाट त्यही दर्जामा वा नीति नियममा मिल्ने सम्म दर्जामा क्षमता हेरी सरकारी जागीर दिने ब्यबस्था भएको भए , आर्थीक रुपले हाम्रो जीबन कती सहज हुन्थ्यो होला? उदाहरणका लागी मेरो पती २०५७ सालमा इन्सपेक्टर दर्जामा राष्ट्रको लागि प्राणको आहुति दिएर जानु भयो र म त्यो बेलामा अंग्रेजीमा आइ ए पास गरी सकेको एक श्रीमती थींए । यदि मलाइ आवश्यक जाँच लिएर तालीममा सहभागी गराई वा सिधै त्यो पद दिएको भए , मेरो जीवन सहज हुन्थ्यो होला । कोही परिवार फौजमा आउन नचाहेमा त्यही दर्जा बराबर कतै रोजगार दिएको भए त्यस्ता परिवारजनहरूको जीवन कती सुरक्षीत हुव्थ्यो होला ? यो कुरामा संगठनको नेतृत्वको ध्यान पुग्नु पर्थ्यो तर बिडम्बना त्यसको लागि सोच नै बनाएन। कानुनको विषयमा अन्तराष्ट्रिय कानुनी पाटो पनि हेरिन्छ र न्यायमा विभेद गरिन्छ भने सहीद हुनेको र अंगभंङग भएर जिउँदो लास भएर बाँच्नुको अर्थ के त ??
सहीद परिवारका लागि प्रहरी कल्याणकोषले सीलाइ बुनाइ जस्ता साधारण सीप दीने कार्य गर्यो तर आजको २१ औं शताब्दीमा यस्ता सीप भन्दा पनि परिवारका लागि पर्यटन वा साना उध्योग चलाउने क्षमता बडाउन र बाल बालिकाका लागी प्रहरी अधीक्रीतहरु बाट समेत स्पोनसर गराइ उच्च शिक्षा सम्म सहयोग गराउने व्यवस्था भई दिएको भए कति राम्रो र सहज हुने थीयो होला??!!!! प्रहरी कल्याण कोषबाट सहीद र असक्त प्रहरीहरूलाई खासै ठूलो सहयोग भएको छैन। जे जत्ति सहयोग गरेको थियो त्यो पनि आज घटी सकेको छ।
जब सम्म अन्य राजनैतीक दलको झैं गरी सहीद परिवारका लागि सोच्ने ब्यक्तिहरु यस समुह बाट पनि राज्य संचालन वा सासनमा पुग्न सकिदैन तब सम्म हाम्रो बर्गको उत्थान हुन सक्तैन । सहीद परिवार र आफ्ना वर्गको हितमा काम गर्न सदनमा आवज उठाउन भए पनि शासनमा पुग्न चाहान्छौं र यस्का लागि राज्यले विशेष ढोका खोलीदीन जरुरी छ । सांसदहरू मर्दा वहाँहरूको श्रीमतीलाई जसरी जवरजस्ती फूलको माला र खादा लगाई स्वागत र सम्मान गर्दै राजनीतिमा लगिन्छ त्यसै गरी हामी सहीद परिवारलाई पनि सबै राजनीति दलहरूले चासो राखेर अगाडि लान सक्नुपर्छ।
सहीद परिवारहरु केबल साना कुरा मात्र सोची रहेका छैनन् बल्की पति वा आफ्ना सहीद परिवारहरूले देखेका सपना हरु पनि पुरा गर्न चाहान्छन् जस्मा केबल खाने लाउने र परिवार पाल्ने सपना मात्र छैनन् बल्की मुलुक जोगाउने, बनाउने र उठाउने सपना हरु पनि पहिले पनि थिए भने अहिले त झनै बढी छन् । ती कामहरु पनि हामी गर्न सक्छौँ र गर्न चाहान्छौं। जसरी मेरो मनमा यति धेरै भावनाहरू नदी झै छताछुल्ल बगी रहेका छन त्यसै गरी धेरै सहीद परिवारहरूको पनि हुनेछन्। संगठित भएर सफल पार्न चाहान्छौं।
- लेखक कार्की शहीद प्रहरी परिवारकी सदस्य हुन् ।


