बर्दिवास - महोत्तरीको बर्दिवासमा चौथो महोत्सव आयोजना हुने भएको छ ।
कोभिड–१९ ले धरासायी भएको निजी क्षेत्रको व्यवसाय कृषि तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले चौथो बर्दिवास कृषि व्यवसाय पर्यटन प्रबद्र्धन महोत्सवको आयोजना गर्न लागिएको हो ।
स्थानीय उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज बस्तुको प्रमुख प्रदर्शनी गरिने संघको तयारी छ । महोत्सवमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झल्काउने झाँकी पनि प्रदर्शन गरिने कार्यक्रम छ ।
आईतबार बर्दिवास उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव अगामी असोज ४ गतेदेखि असोज १५ गतेसम्म आयोजना हुने संघका महासचिव भवनाथ खतिवडाले बताए ।
करिब साढे २९ लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने महासचिव खतिवडाले जानकारी दिए ।
१५० स्टल रहने महोत्सवमा स्थानीय व्यवसायीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले उल्लेख गरे । ‘कृषि उत्पादन प्रदर्शनीमा राख्ने बर्दिवास नगरभित्रका किसानलाई निशुल्क गरिएको छ, महासचिव खतिवडाले भने ‘उहाँहरुको उत्पादनलाई महोत्सव स्थलसम्म निशुल्क रुपमा ल्याउने व्यवस्था पनि हामीले मिलाएका छौं ।’





