काठमाडौँ — घरअगाडिको औरही खोलाबाट अनियन्त्रित रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका धनुषाको मिथिला–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) को हत्या भएको साढे दुई वर्षसम्म न्याय नपाएपछि उनको परिवार काठमाडौं आइपुगेको छ ।
जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने गरी ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१)’ को लक्ष्यअनुसार काम भएको भए महतो परिवारले ‘न्याय’ पाइसक्ने थियो । तर, दिलीपको मुद्दामा अहिलेसम्म साक्षीको बयान/बकपत्रसमेत नभएका कारण उनको परिवार सहयोगको याचना गर्न काठमाडौं आएको हो ।




दिलीपका बुवा रामजीवन, भाइ ख्वाइस, दुई बहिनी लक्ष्मी र संगम शुक्रबार राजधानी आइपुगेका हुन् । आइतबार पत्रकार सम्मेलन गरी कानुन व्यवसायीको सहयोगमा न्यायिक नेतृत्वको ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ । ‘विपक्षीले आठ जना वकिल नै राखेका छन्, पालैपालो पेसी स्थगित गराइरहेका छन्, हामीले सरकारी वकिलबाहेक कोही राख्न सकेका छैनौं,’ रामजीवनले भने ।
अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको आरोप छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर त्यहाँबाट उनी जीवितै फर्किन पाएनन् ।

हत्यापश्चात् उनलाई टिपरले किचाएर दुर्घटना भएको देखाउने प्रयास गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो र शत्रुधन महतो तथा दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये सुरुमा फरार रहेका उद्योग सञ्चालक विनोद करिब एक वर्षपछि अदालतमा आफैं हाजिर हुन पुगेकामा जिल्ला अदालतले साधारण तारेखमा राख्यो ।
कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका कारण उनीहरू निष्फिक्री हिँडिरहेका छन् । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन् । यो मुद्दाको फैसला नहोउन्जेलसम्म उनीहरू न्यायिक हिरासतमा बस्नुपर्नेछ । उनीहरू सातै जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडिको चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ ।
दिलीप महतो हत्याका दुई वर्ष : न्याय टाढा, अभियुक्तबाटै मुद्दा र अदालतबाट आदेश
२०७६ माघ २२ मा धनुषा जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सातै जनालाई जीवित रहेसम्म कैद गर्न माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा ‘क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मार्ने व्यक्तिलाई जीवित रहेसम्म कैद गर्नुपर्ने’ कानुनी व्यवस्था छ । यही कानुनी व्यवस्थालाई दिलीपको घटनामा पनि आकर्षित गर्ने सरकारी प्रयास छ ।
दिलीपको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएको १४ महिनापछि मात्रै पूर्ण सुनुवाइका लागि इजलासमा पेस भएको थियो । २०७७ चैत ३१ देखि गत महिना साउन ३० सम्ममा जम्मा १० पटक पेसीमा चढेकामा तीन पटकमात्र सुनुवाइ भयो, जसमा २०७८ असोज ७ मा जिल्ला न्यायाधीश ध्रुव कार्कीले साक्षी बुझ्न आदेश दिएका थिए । त्यसपछि अदालतले निरन्तर तीन पटकसम्म यो मुद्दा स्थगित गर्यो ।
२०७८ फागुन २५ मा अर्का न्यायाधीश तीर्थराज केसीले पुनः साक्षी बुझ्ने आदेश दिए । त्यस्तै गत जेठ २४ मा अर्का न्यायाधीश परशुराम भट्टराईले बयान/बकपत्र गराउन आदेश दिएका थिए । त्यसबाहेक पेसीका अन्य दिनमा अभियुक्तहरूका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका थिए । गत जेठ ९ मा एक पटक सरकारी वकिलले सुनुवाइ स्थगित गराएको देखिन्छ । ‘आफूहरूले जति नै अनुरोध गर्दा पनि अदालतमा सुनुवाइ सुरु नभएपछि काठमाडौं आएको’ दिलीपकी बहिनी लक्ष्मीले बताइन् ।
दिलीप भारतको भोपालमा इन्जिनियरिङको अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर छुट्टीमा घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । दाइको मृत्युपछि उनी पास भएको खबर पाउँदा कैयौं दिन आँसु नरोकिएको संगम बताउँछिन् । न्याय प्राप्तिको लडाइँसँगै बहिनीहरू संगम र लक्ष्मीले स्थानीयस्तरमा वातावरण संरक्षणको समेत अगुवाइ गर्दै छन् ।
२०७७ भदौ ३१ मा संगमको अध्यक्षतामा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ दर्ता गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र प्रदेश सरकारले गरेको सहयोगले संरक्षणका कार्यक्रम अगाडि बढाउँदै उनीहरूले औरही खोलामा ‘दिलीप चुरे वाटिका’ बनाउँदै छन् ।
श्रीपुर गाउँका दुई सयभन्दा बढी परिवारको भेलाले २०७६ फागुन १० मा दिलीपलाई पर्यावरण सहिद घोषणा गर्दै औरही खोलामा अवैध उत्खनन रोक्ने निर्णय गरेको थियो । उद्योग सञ्चालक विपिन पक्राउ परेका थिए भने विनोद फरार थिए । त्यसमाथि गाउँलेको भेलाले उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो तर विनोदले साधारण तारेखमा बसेर मुद्दाको प्रतिरक्षा गर्ने मौका पाएपछि दिलीपका बुवा रामजीवन, आमा चन्द्रकलादेवी र दुईवटी बहिनीहरू संगम र लक्ष्मीविरुद्ध जनकपुर उच्च अदालतमा आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा निषेधाज्ञा निवेदन दिए ।
११ दिनपछि चैत ३१ मा उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र लेखनाथ घिमिरेले दिलीपको परिवारका नाममा ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू/नगराउनू’ भन्ने अन्तरिम आदेश दिए ।
चार दिनअघि गत भदौ ७ मा उच्च अदालतका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ र सागर बिष्टको इजलासले दिलीप परिवारविरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ । ‘अदालतको २०७७ चैत अन्तिमकै अन्तरिम आदेशबाट ढुक्कसँग चलेको उक्त उद्योगका पक्षमा अन्तिम फैसला आएपछि अहिले झन् गैरकानुनी उत्खनन तीव्र बनेको’ दिलीपकी बहिनी लक्ष्मीले बताइन् । उनका अनुसार उक्त बालुवा प्रशोधन उद्योग सरकारले तोकेको मापदण्डविपरीत चलिरहेको छ ।
खोलाबाट कर नतिरी, सम्बन्धित निकायको अनुमतिबिनै नदीजन्य पदार्थको उत्खनन र निकासी गर्दै आएको उद्योगले सर्वसाधारणको स्वास्थ्य, जनजीवन र पर्यावरणमा नकारात्मक प्रभाव पारेको छ । आफूहरूले कम्तीमा दिलीप हत्याको मुद्दा टुंगो नलागेसम्म उद्योग नचलाउन गरेको मागलाई समेत बेवास्ता गरिएको उनको गुनासो छ ।
खेत र गाउँ बचाउन चाहन्थे दिलीप
मिथिला नगरपालिकाले नगरभित्र सञ्चालित उद्योगहरूको व्यवस्थापनका लागि गठन गरेको अध्ययन टोलीले स्थलगत अनुगमन र निरीक्षणको आधारमा तयार पारेको औरही, जलाद र जगधर खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा पनि चुरियामाई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्डसमेत पालना नगरेको उल्लेख छ । उक्त उद्योगले तोकिएभन्दा बढी परिणाममा र गहिरो गरी उत्खनन गरेको तथा निषेध गरिएको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा झिकेको पाइएको थियो ।
अवैध उत्खनन्को विरोध गर्ने युवकको टिपरले किचेर हत्या
दिलीपको हत्यामा सात जनाविरुद्ध दर्ता भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरेको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न र नियन्त्रण गरी जफत गर्न माग गरिएको छ । ‘तर त्यसमा अदालतले कुनै आदेश दिएको छैन,’ संगमले भनिन्, ‘उच्चले उद्योगलाई निरन्तर चलाउन आदेश दिएपछि अहिले प्रतिबन्धित स्थानबाट पनि ढुंगा, गिट्टी, बालुवा निरन्तर उत्खनन गरिएको छ ।’
दिलीपका बुवा रामजीवनले पैसाको चलखेल भएको आफूले सुनेको बताए । ‘प्रहरी र स्थानीय तहका प्रतिनिधिले अवैध उत्खनन रोक्न चासो देखाउँदैनन्, किन त ?’ उनको प्रश्न छ, ‘जिल्ला अदालतमा अहिले गोलाबाट इजलास छानिने कारणले आफूले चाहेको न्यायाधीशकामा मुद्दा नपरेसम्म स्थगित गराइरहेका छन् । त्यो पैसाको चलखेल नभएर के हो ?’-कान्तिपुरबाट




