दिवेश कुमार महतो / ढल्केवर
धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आयोजित मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा महोत्तरीको गौशाला महिला क्रिकेट टिम विजयी भएको छ ।



श्री जनता माध्यमिक विद्यालय नक्टाझिजको खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा गौशाला टिमले धनुषाको मिथिला नगरपालिका महिला क्रिकेट टिमलाई पाँच विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मिथिला नगरपालिका महिला क्रिकेट टिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । मिथिलाका लागि मोनिका रायले सर्वाधिक १६ रनको योगदान गर्नुभयो ।
जवाफी ब्याटिङमा उत्रिएको गौशाला महिला क्रिकेट टिमले पाँच विकेटको क्षतिमा ११ ओभरमै ५५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गर्यो ।
गौशालाका लागि काजल महतोले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर चार विकेट लिनुभयो । उहाँ प्लेयर अफ द म्याच घोषित हुँदै नगद पुरस्कारसमेत प्राप्त गर्नुभयो । प्रतियोगितामा सर्वाधिक रन बनाउनुभएकी मिथिला नगरपालिकाकी मोनिका राय उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो ।

लियो क्लब अफ मिथिला आदर्शका अध्यक्ष धर्मेन्द्रकुमार महतोको अध्यक्षता तथा ढल्केवरका समाजसेवी राजलाल महतोको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
महिला क्रिकेटको विकास तथा प्रवर्द्धन, स्थानीय महिला खेलाडीको प्रतिभा पहिचान, खेलप्रतिको उत्साह र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी दुवै टोलीका खेलाडीलाई प्रमाणपत्र, सिल्ड र मेडल प्रदान गरिएको थियो ।

खेलाडीको हौसला बढाउन श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका शिक्षक तथा शिक्षिकाले प्रत्येक चौका, छक्का, मेडन ओभर, ह्याट्रिक विकेट, अर्धशतक र शतकका लागि नगद पुरस्कारको व्यवस्था गरेका थिए । खेलाडीका लागि फ्रुटी तथा रेडबुलसमेत उपलब्ध गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा आर्थिक सहयोगदाता समाजसेवी राजलाल महतोले महिला क्रिकेटको विकास र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्ने बताउनुभयो । मिथिला नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने प्रतिभावान् खेलाडी रहेकाले उनीहरूलाई खेल सामग्री, प्रशिक्षण र अवसर उपलब्ध गराउन स्थानीय सरकार तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानाध्यापक श्यामकुमार यादवले महिला खेलाडीको उत्साहजनक सहभागिता र प्रतिस्पर्धाले स्थानीयस्तरमा महिला क्रिकेटको सम्भावना उजागर गरेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तह, सामाजिक अभियन्ता, शैक्षिक संस्था र युवा क्लबबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भएको भन्दै आयोजक, आर्थिक सहयोगदाता, प्रोत्साहन गर्ने शिक्षक–शिक्षिका तथा सहयोगीप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार यादव, हाम्रो युवा क्लबका अध्यक्ष दीपेश कुमार सिंह, लियो क्लब अफ काठमाडौं क्यापिटलका अध्यक्ष अञ्जलीकुमारी कुशवाहा, गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोइरी, गौशाला महिला क्रिकेट टिमका अध्यक्ष सञ्जितकुमार महतो, उपाध्यक्ष रामहरि महतो, प्रशिक्षक नवीनकुमार महतो, मिथिला नगरपालिका महिला क्रिकेट टिमकी प्रशिक्षक रोजी कडारीलगायत विभिन्न युवा क्लबका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय खेलप्रेमीको उपस्थिति थियो ।

कार्यक्रमका संयोजक दिवेश कुमार महतोका अनुसार प्रतियोगितामा विभिन्न सामाजिक तथा युवा संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हिमालय युवा क्लब नक्टाझिजका पूर्वअध्यक्ष अरुणकुमार महतोले गर्नुभएको थियो भने स्थानीय उमाशंकर महतो र सुवराज महराले अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो ।




