महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ पर्सा देवाड स्थित श्री राष्ट्रिय मावि का विद्यार्थीहरु प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन्।
विद्यार्थीहरुले विद्यालयको व्यवस्थापन देखि पठाइलेखाई समेत राम्रो नभएको गुनासो गर्दै सडकमा उत्रिएका छन् । उनिहरुले हेड मास्टर चाहिदैन ,स्कुल बेच्न पाइदैन ,विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ,गुणस्तर शिक्षा दे लेखिएका प्ले कार्ड बोकी नारा लगाउदै कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुले प्रदर्शन गरेका हुन् ।




विद्यालयमा कुनै पनि सेवा सुविधा विद्यार्थीलाई प्राप्त नभएको कक्षा ९ मा अध्ययनरत छात्र रोहित गोसाईले गुनासो गरे । उनले भने , “स्कुलमा केही कुराको पनि उचित व्यवस्थापन छैन । खानेपानी ,शौचालय ,कक्षाकोठा ,डेस्क बेन्च ,पोसाक ,खाजा आदि इत्यादी कुनै पनि कुराको विद्यालयले व्यवस्थापन गरेको छैन । कक्षामा शिक्षक पनि पढाउन आउदैनन् ,आएपनि मन लागे पढाउने नलागे नपढाउने गर्छन् ।
उनले विद्यालयका शिक्षकहरु नियमित रुपमा हाजिर नहुने गरेको बताए । विद्यार्थीहरु नआएपनि उनीहरुको हाजिरी शिक्षक आफैले मनोमानी ढंगले बनाइदिने गरेको उनले बताए ।
“हाम्रो स्कुलमा भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको छ । यस विद्यालयमा पढ्ने अधिकांस छात्रछात्रालाई आफुले बसोबास गर्ने जिल्लाको नाम समेत भन्न सक्दैनन् ,परिचय दिन पनि नसक्ने खालका छन् । स्कुलमा राम्ररी कहिल्यै पढाइ हुदैन । ७ घन्टीमा ३ घन्टी पनि मुस्किलले पढाई हुन्छ । सरहरु आउछन, दिनभरि मोबाइल खेलेर गफ छोडेर बेलुका फर्किन्छन् । उनीहरुलाई पढाई सँग कुनै मतलब हुदैन । “
पोसाक (ड्रेस ) पनि उपलब्ध नगराइएको र पुस्तकहरु प्रधानाध्यापकले अन्तै बेच्ने गरेको आरोप समेत विद्यार्थीहरुले लगाए ।
बिगत ५ वर्ष देखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाई नगरेको विद्यार्थीहरुले गुनासो गरे । साथै माग पुरा नभए सम्म आन्दोलन गर्ने र पठनपाठन ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
यता सम्सी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताएका छन् ।
हाल विद्यालयका प्रधानाध्यापक रामबाबु यादव छन् ।





