महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्थानीय प्रदर्शनकारी र प्रहरी बीच मङ्सिर २९ गते भएको झडपको अधिकारकर्मीहरुको टोलीले पुस १ गते अनुगमन गरेको छ।
उक्त झडपमा परी सुरक्षाकर्मी सहित ६ जना घाइते भएको छ।



इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह, वारेकका मधेस प्रदेश कार्यक्रम संयोजक विकास बन्जारा, वोरेकको महोत्तरी जिल्ला कार्यक्रम अधिकृत लिला दियाली, अभिवक्ता रेखा झा, कायापलटका दिवाकर उप्रेती लगायतका टोलीले घटना स्थलको अनुगमन गर्नुको साथै विभिन्न सराकारबाला तथा स्थानीयहरु संग भेटघाट गरि जानकारी लिएका छन् ।

अधिकारकर्मीहरुको टोली संग रामगोपालपुर नगरपालिकाका मेयर रामदुलार साहले घटना बारे जानकारी दिदैं नेहा चौधरी र पंकज चौधरीको घरायसी झगडा नै मुख्य कारण भएको बताउनुभयो ।
मेयर साहले नेहा चौधरीले रामगोपालपुर नगरपालिकाको न्यायिक समितिमा कुनै किसिमको लिखित उजुरी समेत नदिएको जानकारी दिनुभयो।
मेयर साहले भन्नुभयो, “कुमारी आमाको नामले चर्चा बटुलेकी निहारिका सिंह राजपुतको उक्साहटमा घटना भएको हो । नेहा र पंकजको घरायसी विवाद झगडाको अदालतमा मुद्दा चलिरहेको छ । नेहाले पंकज माथि अंश मुद्दा सहित जालसाजी, लिखित बदर, घरेलु हिंसा र दाइजो उत्पडीनका मुद्दा दिएकी छिन् भने पंकजले पनि सम्बन्ध विच्छेद र निषेधाज्ञाको मुद्दा दर्ता गराएका छन् । उनिहरुको मुद्दा कानुनी तवरले चलिरहेको छ। तर निहारिकाले नेहा र यहाँका विद्यालयका विद्यार्थीहरुलाई उक्साएर नगरपालिकामा ढुंगामुढा, तोडफोड र आगजनी गरि क्षति पुर्याएको हो ।”

मङ्सरि २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि औरही नपा-१ माइतबाट रामगोपालपुुर नगरपालकिा घर फर्किएकी नेहा चौधरीले घर प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको प्रदर्शनले झडपको रुप लिएको थियो ।
घरमा प्रवेश नपाएपछि महोत्तरीमा कुमारी आमाको नामले चर्चा पाएकी निहारिका सिंह राजपुतको नेतृत्वमा नेहा आफ्ना पति डा. पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्द घरको गेटमा धर्ना बसेकी थिइन् ।
निहारिकाको नेतृत्वमा मङ्सरि २८ गतेदेखि केहि युवाहरुलाई समर्थनमा लिई रामगोपालपुर चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका थिए । आन्दोलनको क्रममा मङ्सरि २९ गते आन्दोलनकारीहरुले प्रदर्शन गर्दै रामगोपालपुर नगरपालकिामा ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी, एक जना नेपाल प्रहरी र तीन जना नगर प्रहरी घाइते भएको छ ।

स्थिती बिग्रिदिै गएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रु ग्याँस प्रहार गर्नु परेको थियो ।
घाइते हुनेहरुमा नेपाल प्रहरी सहायक हवलदार मुकेश प्रसाद यादव, सशस्त्र प्रहरी जवान शविसागर कुँवर, कमलेस प्रसाद यादव रहेका छन् भने रामगोपालपुर नगरपालकिाका नगर प्रहरी कृष्ण पण्डित, गंगाराम राय र सुरेश राय घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानिय स्वास्थ्य क्लिनिकमा भई घर फर्किसकेको मेयर साहले जानकारी दिनुभयो ।
नगरपालिकामा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई प्रहरीले मंसीर २९ गते साँझ गिरफ्तार गरेर लगेपछि स्थिती नियन्त्रणमा आएको थियो भने पुस १ गते स्थानीय केहि राजनीतिक अगुवाहरुको रोहवरमा आइन्दा यस्तो किसिमको घटना नदोहोर्याउने भनि कागजगरि नेहा र निहारिकालाई प्रहरीले छोडेको छ।

यता मेयर साहले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा नगरपालिकामा ढुंगामुढा, तोडफोड, आगजनी गरी क्षति पुर्याएको तथा ढुंगामुढाबाट कर्मचारी समेत घाइते भएको हुँदा आन्दोलनको नेतृत्वकर्ता निहारिका सिंह राजपुत र नेहा चौधरी सहित प्रत्यक्ष अप्रत्यक्ष रुपले संलग्न उपर कार्वाही तथा क्षतिपूर्ति भराउनको लागि उजुरी दिएको बताउनुभयो ।
मेयर साहले पुस १ गते कार्यापालिकाको बैठक बसी घटना बारे छानबीन गर्न एक समिति समेत गठन गरेको बताउनुभयो । उहाँले छानबिन समितिले हिंसा भडकाउने खालको प्रदर्शन र आन्दोलनका पछि कसको संलग्नता रहेको बारे अध्ययन अनुसन्धान गरेर प्रतिवेदन पेश गर्ने र सोहि अनुसार घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपले संलग्न उपर कार्वाहीको लागि कानुनी उपचार खोज्ने बताउनुभयो ।




