सप्तरी-सिरहाको गोलबजार नपा–९ का १२ वर्षीय मो. तरिक शेख, ३ वर्षीय आसिलम शेख र २ बर्षीया आजमिन खातुनलाई हत्या गरेको आरोपमा उनीहरुका आमा ३८ वर्षीया रुक्साना खातुनलाई ०७९ पुस २१ गते जन्मकैद र थप ३ वर्ष कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुबेदीको इजलाशले आरोपितलाई जन्मकैद र ३ वर्ष थप कैद सजायको फैसला ठहर गरे पनि रुक्सनालाई ८ वर्ष कैद गर्ने गरी उच्च अदालत जनकपुर राजविराज इजलाशसमक्ष प्रस्ताव पठाएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।



आरोपितले ०७६ असार २० गते हत्या गरेको भन्दै आरोपितकी सासु ७० वर्षीया जलेखा खातुनले असार २२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनु भएको थियो । सप्तरीको हनुमाननगर कंकालिनी नपा–१ भारदहस्थित सप्तकोशी नदीमा चार सन्तानलाई फालेर आत्महत्याको प्रयास गरेकी आरोपित र माइला छोरा ५ वर्षीय तहसिल भने बाँच्न सफल भएका थिए ।
कोशीमा बेपत्ता भएका आरोपितका दुई छोरा र एक छोरी हालसम्म फेला परेनन् । जिल्ला अदालतमा ०७६ साउन १४ गते अभियोगपत्र दायर भएकोमा साउन १५ गतेदेखि रुक्साना पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छिन् ।




