दिवेश कुमार महतो/ढल्केवर
धनुषाको नक्टाझिजमा पहिलो पटक पाचौं संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ।



मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका -२ नक्टाझिज स्थित हिमालय युवा क्लबको खेलमैदान मा यहि माघ २३ गते देखि माघ २८ गतेसम्म राष्ट्रिय स्तरको खेल हुने नेपाल हक्की संघले जनाएको छ।
संघका अनुसार प्रतियोगितामा प्रदेश नं -१ को टिम , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीको टिम सहभागी रहने छ।
मधेश प्रदेशमा महिला हक्की टिमलाई उकास्न र महिला सशक्तिकरण मा जोड दिनका लागि यसपाली राष्ट्रिय स्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको हक्की टिमको मधेस प्रदेश संयोजक रविन्द्र सिंहले बताउनुभयो।
मधेश प्रदेशको टिममा धनुषा, महोत्तरी र पर्साको खेलाडीहरु रहेता पनि धनुषा र महोत्तरी बाट धेरै हक्की खेलाडीहरु राष्ट्रिय टिममा सहभागी पनि भएका छन्।
हालै पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धनुषाको मिथिला नगरपालिका बाट जम्मा ८ जना महिला र ७ जना पुरुष खेलाडी राष्ट्रिय स्तरको टोलीमा सहभागी भएका थिए।
प्रतियोगिता नेपाल हक्की संघ केन्द्रीय कार्यालय र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा हुने बताइएकाे छ। प्रतियोगिता संचालनका लागि मिथिला नगरपालिकाले आवश्यक सहयोग गरेका छन् भने आउने दिनहरुमा पनि यस भेगका राष्ट्रिय खेलाडीहरुका लागि मिथिला नगरपालिका सहयोग गर्ने मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताउनुभयो।
मेयर महतोका अनुसार नेपाल हक्की संघका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य मनिष झा सँग समन्वय गरी खेलको लागि बाँकी प्रकियाहरु आगाडि बढाइसकेको बताउनुभयाे।
साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगितामा ७ वटै प्रदेश र नेपाल आर्मीको टिमको सहभागितामा स्थानीय खेल संयोजक अरुण कुमार महतोले बताउनुभयो।




